काठमाडौं । चाबहिल, सरस्वतीनगर बस्ने पूर्वसचिव शारदाप्रसाद त्रितालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखे– अचेल सडक र सरकारमा रहेका नेताहरुले उफ्री–उफ्री ‘जनता’ शब्दको गीत गाउन थालेका छन् । तर, नेपाली जनता भने कुलमान घिसिङलाई मात्र सम्झिरहेछन् । उनले ४ वर्षसम्म उज्यालोमा राखेका हामी नेपाली जनता अहिले बारम्बार अँध्यारोमा बस्न बाध्य भइरहेको अवस्था ।’
उनले गत बिहीबार पनि समाजिक सञ्जालमा लेखेका थिए– ‘कुलमान गएपछि दिनहुँ घण्टौं घण्टा बत्ती पनि जान थाल्यो । सायद सत्ताधारीहरुलाई चुनाव खर्चको जोहो गर्नुपर्ने भएर होला ।’
पूर्व अर्थसचिव रामेश्वर खनालले पनि आइतबार चिन्ता प्रकट गर्दै ट्विट गरे– ‘लोडसेडिङ ब्यूँताउन सक्नु पनि यो सरकारको सफलतामै गन्नी त होला ।’
बानेश्वरको शान्तिनगर क्षेत्रमा बसोबास गर्ने अर्का पूर्वअर्थसचिव शान्तराज सुवेदीले यसैबारे पछिल्ला दुई दिनमा दुई पटक सामाजिक सञ्जालमा गुनासो पोखिसके । उनले सोमबार ट्विटरमा लेखे– ‘आजभोलि पटक पटक लाइन जान थालेको छ । खपी नसक्नु भयो । साँझ ५ बजे पछि नै कैयौं पटक गयो । अहिले १९ः३० को समयमा पनि बत्ती गायब छ । के प्रणाली कै खराबी हो ? सर्वसाधारणले विश्वास गर्न छाडे है… ।’
मंगलबार पनि लाइन गएपछि सुवेदीले फेरि नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्बोधन गर्दै लेखेका छन्, ‘विगत केही दिनदेखि खासगरी साँझमा पटक–पटक झ्याप–झ्याप र लामो समय बत्ती जाने गरेको छ । एमडी शाक्यजी, वास्तविकता के हो ? कृपया स्पष्ट पारी सर्वसाधारणमा ब्याप्त भ्रम निवारण गरिदिनु हुन ।’
पछिल्ला दिनमा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या बढेको अनुभव सबैले गरेका छन् । गतको चार वर्षको तुलनामा यो साल धेरै बत्ती गएको भन्दै प्राधिकरणप्रति असन्तुष्टि पोखिरहेका छन् ।
पाटनकी सुजता बास्तोला पछिल्ला दिनमा आफ्नो क्षेत्रमा साँझतिर लगातार बिजुली गइरहेको बताउँछिन् । उनका अनुसार गत शनिबार भने प्राधिकरणले दिउँसो एक घण्टा बिजुली काटिने पूर्वसूचना दिएको थियो । तर, दिउँसो २ बजेबाट गएको बिजुली साँझ ७ बजेसम्म आएन ।
बाँस्तोलाले शनिबार साढे ५ बजेदेखि प्राधिकरणको ‘नो लाइट पुल्चोक’मा कयौंपटक फोन गरेर समस्याबारे सोध्ने प्रयास गरिन् । तर, नो लाइटको टेलिफोन निरन्तर ‘इन्गेज’ थियो ।
त्यसपछि उनले प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै फोन गरेर सोधिन्, ‘घोषणा नै नगरी लोडसेडिङ हुन थालेको हो सर ?’
शाक्यले बुझेर समस्या समाधान गरिहाल्ने आश्वासन दिए । साँझ ७ बजेपछि बत्ती त आयो, तर ‘हाल्फ लाइन’ मात्रै । ‘लाइन गएपछि धेरै फोन आउँछ भनेर होला, सँधै नो लाइट सेन्टरको फोन उठाएर त्यतिकै ब्यस्त बनाएर राखिन्छ,’ बास्तोला भन्छिन् ।
प्राधिकरणको गैरजिम्मेवार जवाफ
विद्युतका आम उपभोक्ता प्राविधिक कारण मात्रै लाइट काटिने समस्या बढेको हैन कि भनेर शंका गरिरहेका छन् । मंगलबार प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक शाक्यले त्यसलाई बल पुग्ने गरी मागले नधाने ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने अवस्था रहेको स्वीकार गरेका छन् । उनले विगतमा पनि यसरी लोडसेडिङ हुने गरेको तर्क पनि अघि सारेका छन् ।
अनलाइनखबरसँग शाक्यले भनेका छन्, ‘कहिलेकाहीँ मागअनुसार आपूर्तिले धान्न नसक्दा एकातर्फको फिडरमा १०–२० मिनेट लाइन काटेर अर्कोतर्फ दिने काम पहिला पनि हुन्थ्यो । यो पटक प्राविधिकहरु आलोचना हुन्छ भनेर लाइन काट्न डराउँदा समस्या भयो ।’
विगतमा पनि यसरी लाइन काटिने तर्क दिएर उनी पन्छिन खोजेका छन् । उनका अनुसार विगतमा जस्तै बिजुलीका स्थानीय प्रणालीमा प्राविधिक समस्या आउने क्रम चलिरहेको छ । सडक विस्तार आयोजना, बिजुलीको तार भूमिगत गर्ने आयोजना, ट्रान्सफर्मर र स्वीच गेयर फेर्नेलगायतका काम गर्दा पनि लाइन जाने गरेको उनी बताउँछन् ।
कहिलेकाहीँ ट्रान्सफर्मर र लाइनहरुमा समस्या भएर विजुली जानुलाई उपभोक्ताले प्राविधिक समस्याका रुपमा स्वीकार गर्दै आएको कायममुकायम कार्यकारी निर्देशक शाक्य बताउँछन् । यसपटक विजुलीको माग धेरै भएर सबस्टेसनहरुमा समस्या आएको उनको भनाइ छ ।
गत सोमबार प्रणालीमा मागभन्दा आपूर्ति कम भएपछि प्रसारणलाइन नै ‘ट्रिप’ हुन पुगेको प्राधिकरण बताउँछ ।
प्राधिरकणले बिजुली अभाव नरहेको तर वितरणलाइनमा समस्या रहेको बताउने गरेको थियो । तर, अब हिउँदमा बिजुलीको माग उच्च भएका बेला प्राधिकरणलाई माग धान्न नै सकस पर्न थालेको शाक्यले बताएका छन् ।
त्यस्तो अवस्थामा माग धान्न निश्चित क्षेत्रमा निश्चित समयका लागि लाइन काटनुको विकल्प नभएपनि आफूहरुले स्विच गेयर फेर्ने लगायतका प्रयास गरिरहेको उनको भनाइ छ ।
कहाँ चुक्यो प्राधिकरण ?
प्राधिकरणकै पूर्वअधिकारीहरु ‘विगतमा पनि अहिलेजस्तै फोर्स लोडसेडिङ हुन्थ्यो’ भन्ने शाक्यको तर्कसँग सहमत छैनन् ।
लोडसेडिङ हटाउने टिममा काम गरेका प्राधिकरणका पूर्व अधिकारीहरु लोड व्यवस्थापनमा सिप नपुग्दा अहिलेको अवस्था आएको बताउँछन् । सोमबार साँझ उपत्यकाभरि लाइन गएको घटनालाई छोप्न गरिएको झुठो दावीले वर्तमान नेतृत्वको व्यवस्थापकीय कमजोरीलाई पुष्टि गरेको उनीहरुको भनाइ छ ।
सोमबार साँझ मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको एउटा युनिट पानी नपुगेर बन्द भएको थियो । आयोजनाका एक अधिकारीका अनुसार विगतमा हिउँदमा दिनभर पानी जम्मा गरेर बेलुका धेरै माग हुने समय (पिक आवर)मा यो आयोजना पूर्ण क्षमतामा चलाइन्थ्यो ।
सोमबार भने दिउँसैबाट सो आयोजना चलाएर पोखरीको पानी सकाइयो । प्राविधिकहरुले साँझमा आवश्यक पर्ने भएकाले के गर्ने भनेर मुख्यालयमा सोधनी गर्दा आयोजना चलाइरहने निर्देशन पाएको थियो । साँझ प्रणालीमा उच्च माग भएपछि मध्यमर्स्याङ्दीको युनिट मात्रै बन्द भएन, भारतबाट काठमाडौंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै ‘ट्रिप’ हुन पुग्यो ।
बढिरहेको मागलाई ध्यान नदिई तत्कालको अवस्था हेरेर मात्रै अघि बढ्दा साँझमा माग धान्न समस्या पर्न थालेको प्राधिकरणकै एक अधिकारी बताउँछन् । उनका अनुसार, अहिले पिक आवरमा भारतबाट ६४४ मेगावाटसम्म विद्युत आयात भइरहेको छ । अब आयात बढाउन नसकिने उनले बताए ।
उनका अनुसार संकटका अवस्थामा आन्तरिक रुपमा हुने उत्पादनलाई जतिसक्दो बढाउने र चुहावटलाई जतिसक्दो कम गर्ने पक्षमा ध्यान दिनुपर्ने हुन्छ । तर, माग र आपूर्तिबीच सन्तुलन कायम गर्न व्यवस्थापकीय सीप प्रयोग हुन छाड्दा लोडसेडिङको त्रास उत्पन्न हुन थालेको ती अधिकारी बताउँछन् ।
‘अहिले प्रणालीलाई बलियो बनाउन केही प्रयास भएका छन्, तर पुरै सफल भएका छैनन्,’ उनी भन्छन्, ‘प्रयोगमाथि प्रयोग गर्दै जाने हो लाइन जाने क्रम झन बढ्छ । विगतको अनुभवलाई आधार मानेर अघि बढ्दा भलो हुन्छ । ’
पछिल्ला दिनमा तराई क्षेत्रमा उच्च मात्रामा बिजुलीको माग भएको छ । चुहावट नभए तराईमा जाडोभन्दा गर्मी महिनमा बढी माग हुन्छ । तर, पछिल्लो वर्ष चुहावटको दर फेरि उकालो लाग्न थालेकाले प्रणालीमा माग बढ्न पुगेको छ ।
प्रणालीमा आइतबार १४५७ मेगावाट र सोमबार १४३४ मेगावाट माग आएको थियो । यो गर्त वर्षको यही समयको तुलनामा ५० देखि ७५ मेगावाट बढी हो ।
प्रणालीमा माग बढी आए विगतमा प्राधिकरणको नेतृत्व नै भारप्रेषण केन्द्रहरुमा पुगेर लोड व्यवस्थापनमा खट्थ्यो । पुग्न असम्भव भए घण्टा–घण्टाको अपडेट लिएर माग व्यवस्थापनको उपाय खोजी गरिन्थ्यो । अहिले त्यस ढंगले काम हुन सकेको छैन ।
बरु प्राधिकरण नेतृत्वले प्रणालीमा माग धेरै आएमा सबस्टेसनबाट पालै–पालो फरक–फरक क्षेत्रमा लाइन काट्ने सजिलो नीति लिएको छ । यसले गर्दा माग घटाउन सकिने र आपूर्ति व्यवस्थापन सहज हुने प्राधिकरणको तर्क छ ।
तर, लाइन काटेर हुने व्यवस्थापनबाट झन समस्या बढ्ने प्राधिकरणका एक पूर्वउपकार्यकारी निर्देशक बताउँछन् । ‘लाइन काटेर समस्या घट्दैन, थप बढ्छ’ उनी भन्छन्, ‘फेरि प्रणालीमा पहिलेजसरी नै इन्भर्टर थपिन्छन्, इन्भर्टरको लोड प्रणालीमा आएपछि माग अझै बढ्छ र त्यसले प्रणाली पहिलजस्तै प्यारलाइज हुन्छ ।’
२०७३ सालमा लोडसेडिङ हट्नासाथ प्रणालीबाट करिब २ सय मेगावाटको पिक लोड कम भएको थियो । गत चार वर्षमा ऊर्जा खपत उच्च दरमा बढ्दा पनि पिक लोडको व्यवस्थापन राम्ररी भएको थियो । मागको पूर्वानुमान गरेर रन अफ दि रिभरमा आधारित आयोजनाहरु, कुलेखानीका ३ वटा आयोजना र हेटौंडाको थर्मल प्लान्ट साँझमा मात्रै चलाएर माग व्यवस्थापनको लागि तयारी गरिन्थ्यो ।
अहिले भने प्राधिकरणमा प्रणाली तथा माग व्यवस्थापनको लागि विगतमा जसरी काम हुन सकेको छैन ।
प्राविधिक कारण मात्रै छैन
पछिल्ला दिनमा बढी बिजुली जानु र छिट्टै नआउनुमा प्राविधिक र माग आपूर्ति असन्तुलन मात्रै कारण नभएको विद्युत वितरण केन्द्रका अधिकारीहरु बताउँछन् । विगतमा जस्तो प्राधिकरणको तल्लो तहसम्म कामका लागि प्रोत्साहन र नैतिक दबाव सिर्जना गर्न अहिलेको नेतृत्व चुकेको छ ।
यो वर्षको सरुवा पनि गतवर्षहरुको भन्दा बढी विवादित भयो । गत शुक्रबार भएको उच्च हतका अधिकारीहरुको सरुवा नवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले रोकिदिएका छन् ।
कोरोनाका कारण आर्थिक गतिविधि सुस्ताएकाले काठमाडौंमा गत वर्षको भन्दा माग नबढेकाले कर्मचारीको मनोबल बढाउन सके संकट टार्न सकिने वितरण केन्द्रका अधिकारीहरु बताउँछन् ।
गत वर्ष यस्तै अवधिमा काठमाडौं उपत्यकामा ४२५ मेगावाट बिजुलीको माग थियो । अहिले ३७५ मेगावाटको हाराहारीमा छ । होटलहरु नचल्दा काठमाडौंमा उच्च दरमा माग बढेको छैन ।
‘अहिले कर्मचारीको मनोबल गिरेको छ, दशैंतिहारमा गरेको ओभर टाइमको भुक्तानी अझै भएको छैन,’ एक अधिकारी भन्छन्, ‘हामीलाई फिल्डमा कर्मचारी खटाउन नै गाह्रो भइसक्यो ।’
रात–साँझ ट्रान्सफर्मर जल्दा कर्मचारी खटाउन नैतिक संकट परिसकेको उनले बताए । तलका कर्मचारीको समस्या नुझ्ने, कामको भुक्तानी नदिने र ओभरटाइमको लागि प्रोत्साहन पनि नगर्ने प्राधिकरण नेतृत्वको शैलीले समस्या बढेको उनले बताए ।
‘हामीसँग पर्याप्त सामान पनि हुन छाडेको छ । एबीसी केबल, कनेक्टर, डीओ, डीआईरनको कमी हुन थालेको छ’, उनले भने, ‘यसबारे धेरैपटक नेतृत्वलाई गुहारियो, तर सुनिएको छैन ।’
माथिबाट निर्देशन मात्रै दिइने तर, परेका समस्याको गाँठो फुकाउन प्रयत्न नै नहुने वितरण केन्द्रहरुको गुनासो छ । उनीहरुका अनुसार, पछिल्ला दिनमा प्राधिकरणको दैनिक कामकाजका लागि गएका दर्जनौं फाइल मुख्यालयमा थन्किएका छन् । एक अधिकारी भन्छन्, ‘तत्काल हुनुपर्ने निर्णयका फाइलहरु थन्किदा तलसम्मै कार्यसम्पादनमा असर परेको छ ।’