काठमाडौं। जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा मुलुकलाई राजनीतिक निकास दिन हिम्मत देखाएकी सुशीला कार्कीले प्रधानमन्त्रीको रुपमा ६ महिनाभित्रै प्रतिनिधिसभा निर्वाचन गराएर आफूलाई अब्बल सावित गरिन्।
एक थोपा रगत नबगाइ चुनाव गर्ने प्रधानमन्त्री कार्कीको चाहना पूरा भएपछि उनको प्रसंसा चुलिएको छ। अन्योलमा रहेको मुलुकलाई पहिलो महिला प्रधानमन्त्रीको रुपमा निकास दिएर इतिहास रचेकी कार्कीले जाँदा जाँदै भने विवादस्पद निर्णय लिएर आलोचनाको पात्र बनेकी छन्। त्यो पदका लागि अयोग्य व्यक्तिलाई दिएको नियुक्तिले प्रधानमन्त्रीलाई कलंक लागेको हो।
चुनाव गराएर इतिहास बनाएकी कार्कीले आफ्नो मन्त्रिपरिषदको अन्तिम बैठकबाट स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेर विवादस्पद काम गरेको भन्दै सवत्र आलोचना भइरहेको छ।
वनविज्ञ अध्यक्ष हुने वा कुनै विद्वत वर्गले नेतृत्व गर्ने कोषमा कार्कीले आफ्ना स्वीकीय सचिवलाई नियुक्त गरेपछि उनको आलोचना भएको हो। हुन पनि कुशासन, नातावाद, कृपावाद र भ्रष्टाचारको विरोधमा जेनजी आन्दोलन भएको थियो। त्यही आन्दोलनको जगमा बनेको सरकारका प्रधानमन्त्रीले अन्तिम समयमा आफ्ना स्वकीय सचिवलाई हैसियत बेगरको संस्थामा नियुक्ति दिएपछि विवाद हुनु स्वभाविक कै हो।
यसअघि पनि प्रधानमन्त्री कार्कीले श्रैष्ठकी श्रीमती र आफन्तलाई सचिवालयमा नियुक्ति दिएपछि चर्को विवाद भएको थियो। त्यसपछि प्रधानमन्त्री कार्कीले सो नियुक्ति खारेज गरेकी थिइन्।
कार्कीबाहेक अहिलेसम्म कुनै पनि पूर्वप्रधानमन्त्रीले आफ्ना स्वकीय सचिवलाई राजकीय लाभको पदमा नियुक्त गरेको इतिहास छैन। सुशासनविद्हरू प्रधानमन्त्री कार्कीको यो निर्णयलाई आफूले पाएको अख्तियारको चरम दुरुपयोग भएको बताउँछन्।
कार्की प्रधानन्यायाधीश हुँदादेखि नै आदर्श उनको प्रिय पात्रका रूपमा कार्यरत थिए। पदबाट अवकाश पाएपछि पनि कार्कीको घरमा आदर्शले सहयोगीका रूपमा काम गरेका थिए। त्यही व्यक्ति भएका कारण उनले श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएकी हुन्।
कोषको संरक्षक प्रधानमन्त्री हुन्छन्। प्रधानमन्त्रीले अध्यक्षमा नियुक्ति दिन सक्ने व्यवस्था छ। त्यही अधिकार प्रयोग गरेर बालुवाटार छोड्नुअघि उनले स्वकीय सचिवलाई नियुक्तिको प्रबन्ध गरिदिएकी हुन्।
आइतबार प्रधानमन्त्री कार्कीले राससलाई दिएकाे अन्तर्वार्तामा स्वकीय सचिव श्रेष्ठकाे खुलेर प्रसंसा गरेकी थिइन्।
उनले भनेकी थिइन्- मलाई सफल पार्नका लागि मेरो निकट रहेर दुई सहयोगी व्यक्तित्व प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जीवनमा बिर्सन नहुने गुन लगाउनुभएको छ । रावल जी पत्रकार मात्रै होइन, उहाँमा इमानदारी र मानिसलाई सहयोग गरुँ भन्ने भावना मात्रै छ।
प्रमुख स्वकीय सचिव श्रेष्ठ अदालतको कर्मचारी हो। अदालतमा काम गर्ने प्रविधि र कानुनमा राम्रो ज्ञान भएको कानुनकै विद्यार्थी पनि हो। धेरै प्रधानन्यायाधीशको निजी सहायकका रुपमा काम गरेको व्यक्ति हो।
म प्रधानन्यायाधीश हुँदा पनि निजी सहायक नै थियो। सचिवालयमा २०/२५ जनाले गर्ने काम यिनीहरूले गरे। लामो समय अदालतमा काम गरेको, आईटी र कानुनमा राम्रो दख्खल भएको व्यक्ति हो। धेरै प्रधानन्यायाधीशको सचिवालयमा निजी सहायक भएर सबैको विश्वास जितेर काम गरेको हो। यो उमेरमा मलाई सफल पार्न ७५ प्रतिशत आदर्शको हात छ। उसैको देनका कारण सम्भव भयो । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा पहिला ४०-५० जना कर्मचारी हुन्थे। म सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु।’
