सिरहा : सिरहाबाट एक मुस्लिम धर्मगुरुलाई बलात्कार घटनाको आरोपमा पक्राउ गरिएको छ ।
सिरहाको लहानबाट एक २३ वर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा मिर्चैया नगरपालिका १० महेशपुर निवासी मुस्लिम धर्मगुरु ३५ वर्षिय मौलवी मोहम्मद अली हसन पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाशंकर पजियारका अनुसार लहानमा डेरा गरी बस्दै आएका मौलवी हसनले झारफुक गराउन पुगेकी युवतीलाई बलात्कार गरेको उजुरी आधारमा पक्राउ गरिएको हो ।
प्रहरीले जर्वजस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय मार्फत बिहीवार जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताएका छन ।
लहान नगरपालिका एक मुस्लिम युवती समान्य विरामी परेपछि आफ्नो जातिय धर्मगुरुसँग झारफुक गराउन मंगलबार साँझ मौलवीका डेरामा पुगेकी थिइन् । मौलवीले युवतीको परिवारलाई अलगै राखि आफ्नो कोठामा झारफुक गर्ने भनी लगेको थियो ।
कोठाबाट निस्केपछि ती युवतीले आफूलाई झारफुकको नाममा बलात्कार गरेको भनी आफ्नो परिवारजनलाई बताएपछि मौलवी विरुद्ध ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएपछि घटना सार्वजनिक भएको प्रहरी उपरिक्षक पजियारले बताए ।
उजुरी परेकै दिन लहान प्रहरीले मौलवी हसनलाई राति करीब १० बजे उनको डेराबाट नियन्त्रणमा लिएको उनले बताएका छन ।