जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरस्थित दुधमती एफ.एम. १०४ मेगाहर्जका सञ्चालक तथा पत्रकार अनिल कुशवाहामाथि प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । सो क्रममा प्रहरीले सञ्चारगृहमा अनधिकृत प्रवेश गर्दै आतंकित बनाउने मात्र नभई एफएम प्रसारण नै अवरुद्ध गराएको आरोप लागेको छ ।
पत्रकार महासंघ धनुषा शाखामा दिएको निवेदनमा कुशवाहाले असोज १३ गते संचारकर्मकै क्रममा आफूमाथि प्रहरी ज्यादती भएको गुनासो गरेका छन् । उनका अनुसार, एक स्थानीय व्यवसायीको भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको निहुँमा ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक राजाराम यादव स्वयं एफ.एम. कार्यालयमै पसेर प्रत्यक्ष प्रसारण बन्द गराएका थिए ।
त्यही दिन सुवधिमाई मन्दिरमा भइरहेको झिझिया कार्यक्रमको प्रत्यक्ष प्रशारण भइरहेको बेला निरीक्षक यादवले आफूलाई कार्यालयमा लगेर गालीगलौज, अपमानजनक व्यवहार र थुन्ने धम्कीसमेत दिएको निवेदनमा उल्लेख छ ।
पत्रकार कुशवाहाले प्रेस स्वतन्त्रतामाथि गरिएको यस किसिमको हस्तक्षेप अस्वीकार्य भएको बताउँदै निष्पक्ष छानबिन गरी संलग्न प्रहरी अधिकारीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले पत्रकारलाई धम्की र दुर्व्यवहार गर्नुका साथै प्रसारण अवरुद्ध गर्नु प्रहरीको बर्दीको आडमा गरिएको ज्यादती र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार भएको भन्दै दोषी प्रहरीलाई कडा कारबाही गर्न आग्रह गरेका छन् ।
प्रहरीले उक्त पोस्ट डिलिट गराउँदै बाहिर यस विषयमा केही भने वा लेखे ठीक नहुने चेतावनी दिएकाले चारदिन सम्म घटना बाहिर नल्याएको बताए ।
यता प्रहरी निरीक्षक यादवले इलाका प्रहरी सम्बन्धि पोस्ट लेख्दा आफ्नो प्रतिक्रिया नलिएको कारण बोलाएर साइवर अपराधमा मुद्दा दर्ता गर्ने चेतनी दिएको स्वीकारे । पटकपटक पत्रकार कुशवाहालाई फोन गरेपनि नआएपछि एफएममा खोज्न गएको तर, प्रशारण बन्द भने नगराएको प्रहरी निरीक्षक यादवको दावी छ ।