महेश सिंह लहान,जिल्ला उद्योग वाणिज्य संघ, जिल्ला कार्य समिति सिरहाले देशभर चलिरहेको Gen Z आन्दोलन का मागलाई वैधानिक र न्यायोचित ठहर गर्दै समर्थन जनाएको छ। संघले सोमबार जारी गरेको विज्ञप्तिमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र अवसरमा समान पहुँच सुनिश्चित गर्ने मागलाई समयसापेक्ष भन्दै सरकारलाई तत्काल ध्यान दिन उधोग बाणिज्य संघ सिरहाका अध्यक्ष बिकास सारडाले आग्रह गरेको छ।
संघले आन्दोलनका क्रममा सरकारी पक्षबाट भएको दमनप्रति गम्भीर आपत्ति जनाउँदै ज्यान गुमाउन बाध्य भएका विद्यार्थी, युवा र कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। विज्ञप्तिमा भनिएको छ, “देशको उज्ज्वल भविष्यका आधारस्तम्भ युवा र सेवकहरूले ज्यान गुमाउनुपरेको घटनाले हामीलाई अत्यन्त पीडा दिएको छ।”
यद्यपि आन्दोलनकै क्रममा देखिएका तोडफोड, आगजनी, लुटपाट र अन्य उच्छृंखल गतिविधिप्रति संघले घोर आपत्ति जनाएको छ। यस्ता कार्यले आन्दोलनले पाएको उपलब्धिलाई कमजोर बनाउने र व्यापार, श्रम–उपार्जन, आमनागरिकको सुरक्षा तथा देशको आर्थिक स्थायित्वमा प्रतिकूल असर पार्ने संघको भनाइ छ। संघले यस किसिमका गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेको छ।
संघले युवापुस्ताले उठाएका मागलाई सुधारात्मक नीति र व्यवहारिक कदममार्फत निष्कर्षमा पुर्याउन सरकारसँग जोडदार आग्रह गरेको छ। साथै, शान्ति, सुशासन, अमनचयन र विश्वासको वातावरणमा मात्र लहान नगरको समग्र विकास सम्भव हुने भन्दै सबै सरोकारवालालाई सकारात्मक हातेमालो गर्न आह्वान गरेको छ।
यसै सन्दर्भमा, संघले Gen Z युवा समन्वय समिति गठन गरी समावेशी र पारदर्शी ढंगले नगर विकासमा सक्रिय सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
