महेश सिंह लहान,सिरहा –पति दीर्घायु तथा पारिवारिक सुख–समृद्धिको कामनासहित सिरहाको लहानसहित मधेसका विभिन्न जिल्लामा सोमबार विवाहित महिलाले परम्परागत बट सावित्री व्रत श्रद्धापूर्वक मनाएका छन्। दिनभर निराहार बस्दै महिलाहरू वट (बर) वृक्ष मुनि विशेष पूजा गर्दै सावित्री र सत्यवानको पौराणिक कथा स्मरण गरेका थिए।
लहान नगरपालिका भित्रका सडक विभागस्थित शिव मन्दिर, अस्पताल चौकको शिवालय तथा रोड नम्बर १ मा रहेको शिव मन्दिरमा बिहानैदेखि महिलाहरूको भीड देखिएको थियो। पारम्परिक भेषभूषामा सजिएका उनीहरू पूजा सामग्रीसहित व्रत बसेर उपस्थित भएका थिए।
पूजा स्थलमा महिलाहरूले बरको रुख वरिपरि धागो बेरी परिक्रमा गरे। पान, सुपारी, फलफूल, मेहन्दी, सिन्दुर, धूप, दीपसहितको थालीमा पूजा अर्पण गर्दै उनीहरूले सावित्रीले यमराजसँग सत्यवानको प्राण फिर्ता ल्याएको धार्मिक आख्यान सम्झिए। पूजा सकिएपछि घर फर्केर श्रीमानको खुट्टा पखाली आरती गर्ने, मिठाई खुवाउने र श्रीमानकै हातबाट सर्वत वा जुस ग्रहण गरी व्रत तोड्ने परम्परा छ।
“श्रीमानको दीर्घायुका लागि वर्षेनी यो व्रत बस्ने गर्छौं,” लहानकी व्रतालु महिला पूजा कुमारी साहले भनिन्, “सावित्रीले जुन प्रकारको साहस देखाइन्, त्यसैको प्रेरणामा हामीले पनि यो पर्वलाई विशेष मान्ने गर्छौं।”
पूजास्थलहरूमा स्थानीय युवाहरू स्वयंसेवकका रूपमा खटिएका थिए भने मन्दिर परिसर फूलमालाले सजाइएको थियो। वातावरण पूर्णतः भक्तिमय थियो—धूप, दीपको सुगन्ध, मन्त्रपाठ, घण्टी र भजनले मन्दिर वरपरको वातावरण शान्तिपूर्ण बनाएको थियो।
मन्दिर व्यवस्थापन समितिका अनुसार, सावित्री व्रतका अवसरमा विशेष सरसफाइ, भजन किर्तन, प्रसाद वितरण र आरतीको व्यवस्था गरिएको थियो। सुरक्षा व्यवस्था मिलाउन प्रहरी टोली पनि परिचालन गरिएको थियो।
बट सावित्री व्रत हिन्दू महिलाहरूका लागि श्रद्धा, समर्पण र नारी धर्मको प्रतीक पर्वका रूपमा मधेस क्षेत्रमा विशेष महत्वका साथ मनाउने चलन रहेको छ। यस पर्वले सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई मजबुत बनाउने विश्वास महिलाहरूले व्यक्त गरेका छन्।