महेश सिंह सिरहा लहान- नेपाल जेसीजका केन्द्रीय अध्यक्ष रजनिस थापाको नेतृत्वमा आएको राष्ट्रिय टोलीको लहान शाखा भ्रमण तथा विशेष विमोचन कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ।
लहान पुगेका अध्यक्ष थापा तथा केन्द्रीय पदाधिकारीहरूको स्वागत लहान शाखाका अध्यक्ष देबनलाल ठाकुर, पूर्व अध्यक्ष बसन्त साह, शशिशेखर यादव, उमेश यादव, चन्द्रकला बछार, खुश्बु जेसवाललगायत दर्जनौं सदस्यहरूले गरेका थिए। स्वागत कार्यक्रमपछि शाखाको परियोजना तथा विशेष बुलेटिनको औपचारिक विमोचन गरिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जेसिजलाई बौद्धिकता, सीप र नेतृत्व विकासको ‘युनिभर्सिटी’का रूपमा चित्रण गरे। उनले भने, “नेपाल जेसीजले फरक सोच, मूल्य र दृष्टिकोण भएका युवाहरू उत्पादन गर्छ, जसको माग बजारमै हुन्छ।”
उनका अनुसार जेसिजमार्फत युवाहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र परिवर्तनको चेतना विकास भइरहेको छ। “राष्ट्रिय नेतृत्वको उपस्थितिले हामी अझ ऊर्जाशील र प्रतिबद्ध बनेका छौं,” शाखा अध्यक्ष ठाकुरले बताए।
विमोचित परियोजना तथा बुलेटिनमार्फत लहान शाखाले आफ्नो सिर्जनात्मकता, नवप्रवर्तन र सामाजिक सक्रियता प्रस्तुत गरेको आयोजकको भनाइ छ।
कार्यक्रममा राष्ट्रिय टोलीका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। साथै, स्थानीय समुदायसँगको अन्तरक्रियाले जेसिजको सामाजिक सम्बन्ध विस्तारमा योगदान पुर्याएको बताइएको छ।