आज विश्व प्रेस स्वतन्त्रता दिवस हो—तर हामी कस्तो विडम्बनापूर्ण समयभित्र छौं जहाँ स्वतन्त्रता दिवस मनाउँदै गर्दा प्रेस र अभिव्यक्तिको घाँटी समातिएको छ। सरकारले आफ्नो आलोचना गर्नेलाई अपराधी ठहर गर्ने बानी बनाइसकेको छ। जसले बोल्छ, उसलाई दबाउने; जसले कलम चलाउँछ, उसलाई थुनामा हाल्ने—यही हो अहिलेको शासन शैली।
जनताको मतबाट चुनिएका तिमीहरू जनताकै आवाज सुन्न डराउँछौ भने, त्यो जनमतको अपमान हो। पत्रकारिता जनताको ऐना हो—यदि ऐनामा अनुहार कुरूप देखियो भने ऐनालाई होइन, अनुहारलाई सुधार्ने हो। तर यहाँ त ऐना फुटाइँदैछ। सरकार निरंकुशताको नयाँ नयाँ परिभाषा कोर्दैछ, र झोले बनेका केही पत्रकार र मिडिया संस्थाहरूले त्यो निरंकुशताको दलाली गर्दैछन्।
तर, इतिहास गवाह छ—मौन जनताले जब बोल्न सुरु गर्छन्, तब क्रान्तिको हुंकार उठ्छ। अब त्यो समय टाढा छैन। कलमलाई जिउँदै गाड्नेहरूसँग अब कलम प्रतिरोध गर्नेछ। आवाज थुन्नेहरूसँग अब आवाज चिच्याउनेछ।
हामी चेतावनी दिन्छौं—पत्रकारिता न त बिक्न तयार छ, न झुक्न। अबको लडाइँ साँचो प्रेस स्वतन्त्रताको लडाइँ हो, जनअधिकारको लडाइँ हो। जुन मिडिया जनताको पक्षमा उभिन्छ, त्यो जनताको मिडिया हुनेछ। जुन पत्रकार सत्ता र पैसा पछाडि लाग्छ, त्यो अब इतिहास हुनेछ।
अब निर्णयको घडी हो—तिमीहरु सुध्रिने कि जनक्रान्तिको सामना गर्ने?