राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आफ्नो गृह जिल्ला सप्तरीको सदरमुकाम राजविराजमा संचालित नीजि अस्पतालहरुको अनुगमन गरेका छन् ।
स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा एकथरी अनुमति र अर्कोथरी सञ्चालनमा रहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरलाई बन्द गर्न निर्देशन दिएका हुन् ।
प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्थानीय तहबाट क्लिनिक सञ्चालन अनुमति लिए पनि शय्या राखी इमेजिङ तथा शल्यक्रियासहितको सुविधा उपलब्ध गराउँदै आएको छ । यस्तो सुविधासहितको स्वास्थ्य सेवा सञ्चालन गर्न पोलिक्लिनिकका रूपमा प्रदेश सरकारबाट सेवा सञ्चालन अनुमतिपत्र लिने प्रावधान छ ।
यस्तै, भारती इमेजिङ सेन्टरलाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले जानकारी दिए । सेन्टरसँग सेवा सञ्चालन गर्ने अनुमतिपत्र नरहेकाले मुख्यमन्त्री सिँहले बन्द गर्न निर्देशन दिएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले बताए ।
यसैगरी स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरेका तर मापदण्ड पुरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ । सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शैय्याको युनिक सिटी अस्पताललाई दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ ।
यसैगरी दुई सय शैय्याको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक पाइए पनि सरसफाइ व्यवस्थापनमा थप जोडबल गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन् ।