महेश सिंह, लहान – महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले लहान नगरपालिका वडा नं. ९ ले दुई महिने ब्यूटी पार्लर सिप विकास तालिम सुरु गरेको छ।
वडाध्यक्ष घुरन चौधरीले आइतबार तालिमको उद्घाटन गर्दै महिलाहरूलाई रोजगारमुखी सीप प्रदान गर्न यो तालिम प्रभावकारी हुने बताए। उनले भने, “यस तालिममार्फत महिलाहरूले नयाँ सीप सिकेर स्वरोजगार बन्ने अवसर पाउनेछन्।” तालिममा ३० जना स्थानीय महिलाहरू सहभागी छन्।
शशि चौधरीको प्रशिक्षणमा सञ्चालित उक्त तालिममा सहभागीहरूले हेयर कटिङ, फेशियल, मेकअप, हेरबल थेरापी लगायतका आधुनिक सौन्दर्य सेवाका सीप सिक्नेछन्। तालिम २०८१ माघ १३ गतेदेखि सुरु भई चैत्र १३ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार तालिमले महिलाहरूलाई आफ्नै व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने लक्ष्य लिएको छ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै महिला अगुवा महेश्वरी चौधरीले महिलाहरूको आर्थिक उत्थानका लागि यस्ता सीपमूलक कार्यक्रमहरू निकै उपयोगी हुने बताइन्। उनले भनिन्, “स्वरोजगार बन्न महिलाहरूलाई आवश्यक सीप र ज्ञान दिँदा आत्मनिर्भर बन्ने अवसर मिल्छ। यसले समाजमा महिलाको भूमिका अझ सशक्त बन्दै जानेछ।”
लहान नगरपालिका वडा नं. ९ को आयोजना र शशी ब्यूटी पार्लर, लहान–८ को प्राविधिक सहयोगमा सञ्चालित तालिममा सहभागी महिलाहरूले आधारभूतदेखि व्यावसायिक स्तरसम्मका सौन्दर्य सेवा सम्बन्धी सीप सिक्न पाउनेछन्।
तालिममा सहभागी भएका महिलाहरूले तालिमपछि लहान क्षेत्रमा ब्यूटी पार्लर सञ्चालन गर्दै आत्मनिर्भर बन्ने लक्ष्य लिएको बताएका छन्। तालिम सफल पार्न स्थानीय तह तथा अन्य सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको वडाध्यक्ष चौधरीले बताए।
स्थानिय समाजसेवी तथा अधिकारकर्मीहरूले पनि यस्ता सीपमूलक तालिमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।