लहान । लहानमा आज किसानहरूले नगरपालिकाको निर्णयविरुद्ध ठूलो जनप्रदर्शन गरेका छन्। खुट्टी खोला सिंचाई नहरलाई ढलको रूपमा प्रयोग गर्ने योजना सार्वजनिक भएपछि किसानहरू असन्तुष्टि जनाउँदै सडकमा ओर्लिए। “नहरलाई ढल बनाउन पाइँदैन”, “किसान विरोधी मेयर चाहिँदैन”, र “किसानको माग पूरा गर” जस्ता नाराले विरोध कार्यक्रमलाई थप जोशपूर्ण बनायो।
खुट्टी खोला नहर सिंचाई संघर्ष समितिको नेतृत्वमा आयोजित यो विरोध जुलुसमा सयौं किसानहरू सहभागी थिए। जुलुसको सुरूवात लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयबाट भएको थियो, जसले नगरका विभिन्न भागको परिक्रमा गरी शहिद चौकमा पुगेर कोण सभाको रूप लियो।
कोण सभामा बोल्दै संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले नगरपालिकाको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै भने, “सिंचाईको लागि यो नहर अति महत्त्वपूर्ण छ, त्यसैले यसलाई ढलमा परिणत गर्न हामी अनुमति दिनेछैनौं।” उनले नगरपालिकालाई किसानहरूको मागलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै, योजना फिर्ता नभए थप संघर्ष गरिने चेतावनी दिए।
सभा अवधिभर किसानहरूले “जय जवान, जय किसान” का नाराले माहोल तताएका थिए। उनीहरूको भनाइ थियो कि यदि नहरलाई ढलमा परिवर्तन गरियो भने यसले कृषि उत्पादनमा प्रत्यक्ष नकारात्मक असर पार्नेछ। किसानहरूले नगरपालिकालाई नहरको संरक्षण र सिंचाईको सुविधाको सुनिश्चितताका लागि दबाब दिँदै, आफ्नो संघर्षलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।