मुस्लिम समुदायमा प्रचलित ‘तीन तलाक’लाई सर्वोच्च अदालतले कानूनी मान्यता नदिएपछि मुस्लिम अगुवाहरुले आपत्ति जनाएका छन् ।
सर्वोच्चको फैसलाले नेपालमा धार्मिक सद्भाव विगार्ने तथा ईस्लामक धर्म प्रतिको अपमान भएको मुस्लिमहरुका अगुवाहरुले जनाएका छन् ।
जनकपुरधाममा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी काजिये नेपालका प्रमुख मोहम्मद उसमान वरकातीले तीन तलाक आफूहरुले ईस्लामिक कानूनको परिवर्तन नहुने विषय भएको दावी गर्दै यस फैसला प्रति अदालत तथा नेपाल सरकारको ध्यानाकर्षण गरेका छन् ।
वरकातीले यसमा पुनः विचार नभएको खण्डमा थप हिंसा हुने खतरा रहेको दावी गरे ।
सर्वोच्चको यस फैसलाले ईस्लामिक कानूनको अपमान गर्ने काम भएको बताउदै यसले सामाजिक अमन चयन तथा धार्मिक स्वतन्त्रता माथि हस्तक्षेप गर्ने काम गरेको टिप्पणी गरे । उनले महिलाहरुलाई पनि समस्या भएको खण्डमा तथा पतिवाट हिंसा भएको खण्डमा काजी मार्फत तलक हुने व्यवस्था ईस्लामिक कानूनमा रहेको बताए ।
काजीय नेपालले नेपाली समुदायको बीचमा घृणा फैलाउने तथा धार्मिक सद्भाव भडकाउने र धार्मिक द्वन्द बढाउने प्रयास भएको बताउदै यस्तो गलत हुन नदिनका लागि सवै पक्ष सचेत रहनु पर्ने धारणा राखे । मुस्लिम धर्मका अगुवाहरुले शदिऔं देखि स्थापित भएको धार्मिक तथा सांस्कृतिक सद्भावलाई कायम गर्नका लागि आग्रह गरे ।
उनले परम्परादेखि मुस्लिमहरुले तीन तलाकलाई महत्वपूर्ण मानेकाले यसका विरुद्धमा कुनै कदम उठाउन नहुने बताए । आफूहरुले धर्मले नै यसलाई मान्यता दिदै आएकाले यसको खिलाफमा कुनै कानून बनाउन नहुने बताए ।
सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिप्रसाद फुयालको संयुक्त इजलासले २०७९ चैत २६ गते गरेको फैसलाको पूर्णपाठ केही दिन अघिमात्रै सार्वजनिक भएको हो ।