काठमाडौँ । भारतको नयाँ दिल्लीमा भएको जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति बनेको छ । आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो जानकारी दिएका छन् ।
प्रधानमन्त्री मोदीले आफूहरूको कठिन मेहनत र सबैको सहयोगमा घोषणापत्र तयार पारिएको भन्दै सहमतिका लागि सबैलाई धन्यवाद दिएका छन् । ‘हाम्रो टिमको कडा मेहनत र तपाइँ सबैको सहयोगबाट नयाँ दिल्ली जी २० नेताहरूको घोषणापत्रमा आम सहमति बनेको छ,’ प्रधानमन्त्री मोदीले भनेका छन् ।
यद्यपि दिल्ली घोषणापत्रमा प्रयोग भएको शब्द र आशयलाई लिएर टिप्पणी पनि सुरु भएको छ । विशेषगरी रुस-युक्रेन युद्धबारे घोषणापत्रमा प्रयोग गरिएको शब्दलाई लिएर युक्रेनले असन्तुष्टि जनाएको छ ।
दिल्ली घोषणापत्रमा युक्रेन युद्धबारे दु:ख व्यक्त गरिए पनि रुसको कदमलाई लिएर कुनै आपत्ति जनाइएको छैन । जसलाई लिएर कतिपय देशका नेताहरूले टिप्पणी गरकेा छन् । जवकि रुसको कदमलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय फोरममा किटान गर्दै युद्धको प्रमुख दोषी ठहर गरिँदा दिल्लीमा भने युद्धको मात्रै विरोध गरियो । तर त्यसमा रुसको भूमिकाबारे किटान नगरिएकोमा आलोचना पनि भएको छ ।
दिल्ली घोषणापत्रमा भनिएको छ, ‘यूक्रेनमा भएको युद्धको सम्बन्धमा बालीमा भएको चर्चा दोहोर्याउँदै हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद र संयुक्त राष्ट्र महासभा प्रस्तावहरूमा आफ्नो राष्ट्रिय अडान दोहोर्याएको छ । साथै यस विषयमा सबै देशले संयुक्त राष्ट्र चार्टरको उद्देश्य र सिद्धान्त अनुरूप काम गर्नु पर्ने कुरामा जोड दिइयो ।’
साथै परमाणु हतियारको उपयोग वा उपयोगको धम्की अस्वीकार्य रहेको पनि घोषणापत्रमा उल्लेख गरिएको छ । तर युद्धबारे घोषणापत्रमा उल्लेख गरिएको विषयलाई लिएर युक्रेनले असन्तुष्टि जनाएको हो ।
युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेंकोले जी २० ले गर्व गर्नलायक केही नगरेको प्रतिक्रिया दिएका छन् । जवकि घोषणापत्रमा ‘कडा शब्द’हरू प्रयोग गर्न प्रयास गर्नेहरूलाई धन्यवाद दिएका छन् ।
उनले सामाजिक सञ्जालमा यसबारे असन्तुष्टि व्यक्त गरेका छन् । ‘युक्रेनमा युद्ध’ को सट्टामा ‘युक्रेनविरुद्धको युद्ध’ उल्लेख गर्नुपर्ने भन्दै उनले असन्तुष्टि जनाएका छन् ।