• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुलुकको स्तरोन्नति र महिला


मुलुकको स्तरोन्नति र महिला

–सरु जोशी
नोभेम्बर २०२६ मा अति कम विकसित देशबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने नेपाल सरकारको तयारी छ । यो फड्कोलाई नेपालका लागि कोसेढुंगा मान्न सकिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९७१ मा सदस्यराष्ट्रहरूबीचको आर्थिक दूरी कम गर्ने नीति लियो । नेपालसहित ४६ अति कम विकसित मुलुकलाई केही सहयोग दिएर मध्यम आय भएको श्रेणीमा स्तरोन्नति गराउने उद्देश्य लियो । र, यसका तीन सर्त राख्यो ।

त्यस अनुसार स्तरोन्नतिको पहिलो सूचकांक प्रतिव्यक्ति आय १,२३० अमेरिकी डलर हुनुपर्नेछ । प्रतिव्यक्ति आय १,१३८ डलर मात्र रहेकाले अहिले नेपालले यो सूचकांक पाइसकेको छैन । दोस्रो, मानव पुँजी सूचकांकमा न्यूनतम ६६ अंक चाहिनेमा नेपालले ७४.९ प्राप्त गरिसकेको छ । तेस्रो, आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमा ३२ अंकभन्दा कम भए पुग्नेमा नेपालको २४.७ छ । नेपालले तीनमध्ये दुई सूचकांक प्राप्त गरिसकेको भए पनि राष्ट्रसंघले नेपाल, बंगलादेश र लाओसको सन् २०२६ मा मात्र स्तरोन्नति हुने घोषणा गरेको छ । अवस्था यस्तै रहेमा नेपाल सबैभन्दा कम प्रतिव्यक्ति आय भएर पनि स्तरोन्नति हुने पहिलो मुलुक हुनेछ । हरेक तीन वर्षमा हुने समीक्षा अब सन् २०२४ मा हुँदै छ ।

माथि उल्लिखित सूचकांकमध्ये मानव पुँजी अन्तर्गत ५ वर्षमुनिको बाल मृत्युदर, ‘स्टन्टिङ’, मातृ मृत्युदर, माध्यमिक विद्यालय भर्ना दर, साक्षरता दर र माध्यमिक तह भर्ना दरमा लैंगिक समानता छन् । यस्तै, आर्थिक तथा वातावरणीय जोखिम सूचकांकभित्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि, वन र मत्स्यपालनको योगदान; ग्रामीण र भूपरिवेष्टितता; वस्तु तथा सेवा निर्यातमा अस्थिरता; कृषि उत्पादनमा अस्थिरता; विपद्को जोखिममा रहेका जनसंख्या छन् । यसभित्र तटीय र सुक्खा क्षेत्रमा रहेका जनसंख्या पनि छन्, जुन नेपालका लागि सान्दर्भिक छैनन् ।

राष्ट्रसंघले ५० वर्षअघि तयार गरेको स्तरोन्नतिका सूचकांकहरू तटस्थ छन् । यिनमा समानताको तथ्यांक अत्यन्तै न्यून छ जसका आधारमा नागरिकको वास्तविक अवस्था छर्लंग देखिँदैन । त्यसैले लैंगिक खण्डीकृत तथ्यांक राखेर तिनमा प्रगति मापन नगरे नेपालको विकासको तस्बिर अधुरो र गलत देखिन्छ । नेपालजस्तो मुलुकमा भौगोलिक र जातीय विविधता, अपांगता, यौनिक तथा लैंगिक अल्पसंख्यक, विभेदमा रहेका महिला तथा सीमान्तीकृत समुदायलाई सम्बोधन गर्न आवश्यक हुन्छ । यसरी लैंगिक तथा समावेशी दृष्टिकोणले नेपाल स्तरोन्नतिका लागि तयार भैसकेको देखिँदैन । उदाहरणका लागि, बालमृत्युको सूचक हेर्दा घटेको देखिन्छ तर बाल जन्मदर हेर्दा ० देखि १९ वर्षसम्मको उमेर समूहमै बालिकाको जन्मदर घटेको देखिन्छ (तालिका हेर्नुस्) ।

यसरी सबै उमेर समूहमा बालिकाको संख्या घट्नु अत्यन्त चिन्ताको विषय हो । नेपालले लैंगिक समानता र समावेशीकरणका क्षेत्रमा धेरै राम्रो काम गरेको छ । तर हामीलाई धेरै काम भैसकेको छ भन्ने अति आत्मविश्वास पनि हुन थालेको हो कि जस्तो लाग्छ किनकि विभिन्न तथ्यांकले समाज छोरीप्रति अनुदार हुँदै गएको देखाउँछ । माध्यमिक स्कुल भर्ना दर, साक्षरता दरमा लैंगिक समानताजस्ता खण्डीकृत तथ्यांक विश्लेषण गर्दा पनि फरक स्थिति उजागर हुन्छ । यो वास्तविकतालाई नेपालले स्तरोन्नतिको प्रक्रियामा नकार्न मिल्दैन ।

आर्थिक र वातावरणीय जोखिमको सूचकलाई लैंगिक दृष्टिले हेर्दा, कृषिमा महिला सहभागिता ७० प्रतिशत छ, कृषिको जीडीपीमा महिलाको योगदान भने २०.२ प्रतिशत छ । नेपालमा ९.७ प्रतिशत घरपरिवारले मात्र महिलाका नाममा जग्गा राखेका छन् । ७० प्रतिशत महिलाले कृषि धाने पनि भूस्वामित्वमा पहुँच नहुँदा महिलाको दायित्व तथा हैसियतबीच दूरी देखिन्छ, यसको पनि विश्लेषण आवश्यक छ । अझ बढ्दो आप्रवासनले कृषिमा महिलाको परनिर्भरता झनै बढाएको छ । वन र मत्स्यपालनको योगदानको सूचकमा महिला सहभागिता तुलनात्मक रूपमा राम्रो देखिन्छ । वस्तु तथा सेवा निर्यातमा अस्थिरताको सूचकमा महिला दृष्टिकोणले विश्लेषण नै भएको छैन । कृषि उत्पादनमा अस्थिरताको सूचक हेर्दा नेपाल अहिले खाद्यान्नको पाँचौं जोखिममा परेको मुलुक हो । भारतसँगको दौत्य सम्बन्ध फरक भएकाले आयात–निर्यातमा जोखिम छैन भन्ने सरकारको बुझाइ भए पनि विपद्का कारण नेपालले आयात गर्ने खाद्यान्न सामग्री बढेसँगै व्यापार घाटा पनि उकालिएको तथ्य जगजाहेर छ । हालै मैदा, बासमतीबाहेक अन्य चामल निर्यातमा भारतले रोक लगाएको छ । यता नेपाल सरकारले खडेरी तथा बाढीका कारण धान उत्पादनमा कमी आउने घोषणा गरिसकेको छ ।

अर्को, विपद् जोखिममा रहेको जनसख्यांको सवाल पनि महत्त्वपूर्ण छ । नेपाल जलवायु परिवर्तनको चौथो र भूकम्पको एघारौं जोखिममा रहेको मुलुक हो । विपद्कै कारण महिलाको मृत्यु हुने, बेचबिखन हुने, हिंसा भोग्नुपर्ने, रोजगारी गुमाउनुपर्ने अवस्था छ । कोभिड महामारीकै बेला पनि घरधन्दा र स्याहारसुसारका काम बढ्दा नेपालमा महिला मानसिक स्वास्थ्यको जोखिममा रहे । भनिन्छ— कोभिडमा सारा संसार बन्द भयो तर हरेक घरमा महिलाको काम मात्र चलिरह्यो । विश्व बैंकका अनुसार, कोभिडको असरबाट पुरुषको स्वास्थ्यलाभ ८३ प्रतिशत र महिलाको ६९ प्रतिशत भएको देखिएको छ ।

स्तरोन्नतिले बिनापारिश्रमिक महिलाले गर्नुपर्ने घरायसी काम र स्याहारसुसारमा कस्तो प्रभाव पार्छ भन्ने चासो सबैतिर छ । मुलुक चाहिँ सम्पन्नताको खुड्किलो चढ्ने तर महिला चाहिँ विपन्नै रहने हो भने यो स्तरोन्नति कसको मूल्यमा हुँदै छ ? घरायसी र स्याहारको काम विश्वव्यापी रूपमा लैंगिक विभेदको स्रोत मानिन्छ । यसबाट महिलाको मानव अधिकार हनन हुने, रोजगारीको औपचारिक क्षेत्रमा प्रवेश गर्ने अवसर गुम्ने र महिलालाई विभिन्न हिंसा सहन बाध्य बनाइने हुन्छ । अर्थात्, घरभित्र मात्रै काम गरिरहँदा महिलाहरू ठूलो अवसरको मूल्य चुकाउन बाध्य हुन्छन् । ओईसीडी अनुसार, विश्वभरि महिलाहरूले पुरुषका तुलनामा २ देखि १० पटकसम्म बढी काम गर्छन् । यद्यपि यसबारे नेपाल सचेत छ र विभिन्न नीतिगत सम्बोधन पनि गरेको छ ।

तर हाम्रा सामाजिक सुरक्षा नीति योगदानमा आधारित छन्, जसमा ११ प्रतिशत रकम श्रमिक आफैंले र २० प्रतिशत रोजगारदाताले राख्ने प्रावधान छ । बिनापारिश्रमिक काम गर्ने महिलाले आफैं ११ प्रतिशत नगद योगदान गर्न सक्दैनन् न रोजगारदाताले बुझेर २० प्रतिशत नगद राखिदिन्छ । यसैले घरायसी कामबारे नीतिगत सम्बोधन भए पनि महिलाले यसको उपभोग गर्न पाएका छैनन् । स्तरोन्नतिको प्रक्रियामा बिनापारिश्रमिक घरायसी र हेरचाहको काम किन पनि विचारणीय छ भने, महिलाको त्यस्तो योगदान नभई सशस्त्र द्वन्द्व, भूकम्प, आर्थिक नाकाबन्दी, व्यापार घाटा, उत्पादनमा ह्रास, विपद्, कोभिड बेहोरेर पनि नेपाल उत्थानशील हुन सक्दैन । हरेक महिलाले घरपरिवारको हेरचाह गरेकाले, बिरामी स्याहारेकाले, घरायसी र करेसाबारी–खेतमा काम गरेकैले विभिन्न राष्ट्रिय तथ्यांक र सर्वेक्षणले मुलुकले शिक्षा, स्वास्थ्य, पोषण, न्यून बाल मृत्युदर जस्ता सूचकहरूमा उपलब्धि हासिल गर्न सकेको हो । तर महिलाको काम कहिल्यै नसकिने, नसुनिने र नदेखिने हुन्छ । त्यसो त सन् १९७९ मै डा. मीना आचार्य तथा विज्ञहरूले गरेको ऐतिहासिक अध्ययन ‘नेपाली महिलाको मर्यादास्तर’ मा पारिश्रमिकबिनाको घरायसी तथा स्याहारसुसारको कामको मापन र मूल्यांकन गरिनुपर्ने सुझाव दिइएको थियो । महिलावादी प्रक्रियाबाट कसरी यस्ता अवैतनिक कामको आर्थिक मूल्यांकन गर्न सकिन्छ भन्नेबारे अर्थशास्त्री डा. चन्द्रा भद्राले व्याख्या गर्नुभएको छ । महिलाले अनौपचारिक क्षेत्रमा, निर्वाहमुखी उत्पादन–पुनरुत्पादनमा यति धेरै काम गर्छन् कि, देखिने वा लेखा प्रणालीमा गणना हुने काम त केवल ‘टिप अफ द आइसबर्ग’ मात्रै हुन् ।

नेपालका करिब ६६ लाख ६६ हजार ९३७ घरपरिवारमा सेवामूलक घरधन्दा र स्याहारसुसारको योगदानको पहिचानबिना नै खुरुखुरु औपचारिक क्षेत्रको कामको मात्र विश्लेषण हुँदा ठूलो संख्यामा महिलाको योगदान अदृश्य भइरहेको छ । यद्यपि २०७८ सालको जनगणनाले २३ प्रतिशत महिलाले घरधन्दाका कारण र ७ प्रतिशतले पारिवारिक हेरचाहमा भुल्नुपरेकाले आर्थिक काम गर्न नसकेको देखाएको छ । तर राष्ट्रिय लेखा प्रणालीमा मापन हुनलाई यी तथ्यांक मात्र पर्याप्त छैनन् । यसका लागि छुट्टै ‘टाइम युज सर्भे’ गर्नुपर्छ । अर्थात्, महिलाले कति समय कुन काममा बिताउँछन् भन्ने प्रमाण चाहिन्छ । आईएलओ बमोजिम विश्वमै महिला अनौपचारिक क्षेत्रमा बढी काम गर्छन् जसमध्ये नेपालमा ९० प्रतिशत छन्, जसको जीडीपीमा ३८ प्रतिशत योगदान छ । राष्ट्रिय जनगणना–२०७८ ले कामको क्षेत्र हेर्दा ६१ प्रतिशत आर्थिक गतिविधि घरमा हुने र त्यसमा महिलाको सहभागिता ६५ प्रतिशत हुने तथ्यांक सार्वजनिक गरेको छ । त्यसैले घरपरिवार र महिलाको कामलाई स्तरोन्नतिमा कस्ता रणनीतिले सम्बोधन गरिन्छ भन्ने ठोस अध्ययन गर्न आवश्यक छ ।

नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुन करिब ३ वर्ष मात्र बाँकी छ । यसका लागि सरकारले सहज संक्रमण रणनीति बनाएको छ तर त्यो कस्तो छ र महिला, सीमान्तीकृत समुदायका विषय कसरी सम्बोधन हुन्छन् एवं कस्ता विज्ञले बनाए भन्ने विषयमा धेरैको चासो छ । यो रणनीतिका आधारमा कार्ययोजना बन्ने क्रममा छ । अर्कातिर, उद्योग तथा वाणिज्य मन्त्रालयले स्तरोन्नतिका कारण व्यापारमा पर्ने असरबारे छुट्टै काम गरिरहेको छ । स्तरोन्नतिमा संघ, प्रदेश र स्थानीय सरकारको समन्वय र सम्पूर्ण सरकारको एकै दृष्टिकोण बनाउन नेपालले निकै काम गर्नुपर्ने देखिन्छ ।

यूएन विमेनको सहयोगमा स्तरोन्नतिका कारण महिलामा पर्ने प्रभावबारे सातै प्रदेशमा कार्यशाला गरिएको थियो । महिलालाई मध्यम आय भएका मुलुकमा जाँदा केकस्तो प्रभाव पर्छ भन्ने विषयमा अधिकांशले आफू अनभिज्ञ रहेको बताए, जबकि सहभागी महिलाहरू आआफ्ना क्षेत्रका नेतृत्वकर्ता थिए । राष्ट्रिय योजना आयोगले स्तरोन्नतिले ल्याउन सक्ने चुनौती सम्बोधन र अवसर प्रवर्द्धन गर्न मस्यौदा रणनीति तयार भएको र अब कार्ययोजना बनाउने कुराले सातै प्रदेशका महिलाहरूलाई आश्वस्त पारेको छ । महिलावादी अर्थशास्त्री डा. बीना प्रधानले अहिलेको अर्थतन्त्रले परम्परागत ढाँचामा बसेर ज्ञान निर्माण गर्छ जहाँ ५१ प्रतिशत महिला अदृश्य छन् भन्दै महिलाको योगदान पहिचान गर्न राष्ट्रिय गणना र सर्भेहरूको ट्रेन्ड विश्लेषण गरेर हाम्रो बृहत् आर्थिक नीति समावेशी बनाउन सरकारसँग अनुरोध गर्नुभएको छ ।

मध्यम आय भएको मुलुक बन्नु नेपालका लागि सुखद विषय हो । यसले नेपालमा वैदेशिक लगानी बढाउन सक्छ । तर स्तरोन्नतिले महिलालाई कस्तो प्रभाव पार्छ भन्दा ठोकुवा गर्न सकिने अवस्था छैन; यसका लागि अध्ययन, विश्लेषण चाहिन्छ । यद्यपि राष्ट्रिय योजना आयोगका अनुसार, अति कम विकसित मुलुकले पाउने कोष नेपालले गुमाउनेछ । ४–५ प्रतिशत निर्यात व्यापारमा नराम्रो असर पर्न सक्छ । युरोप र अमेरिकासँग हुने कार्पेट, पस्मिना लगायतको व्यापार प्रभावित हुन सक्छ । प्राथमिकता रहेका बजारहरू प्रभावित हुँदा साना तथा मझौला उद्यमीहरूलाई असर पर्नेछ । त्यस्तै, नेपालले पाउने छात्रवृत्ति कम हुन सक्छ । संयुक्त राष्ट्रसंघमा बुझाउनुपर्ने योगदान रकम बढ्नेछ । यी आर्थिक घाटा पूर्ति गर्न सार्वजनिक सेवा कटौती र महिला वा सीमान्तीकृत वर्गले पाइरहेको सुविधामा सम्झौता हुन सक्छ । त्यसैले नेपाल सरकारले यसमा अध्ययन, विश्लेषण गरेर बलियो रणनीति कार्यान्वयन गर्न स्तरोन्नतिको समयसीमा बढाउन आवश्यक छ । नेपालले हतार गरेर अधकल्चो प्रयास गरेमा मुलुकको चाहिँ स्तरोन्नति हुन्छ तर महिलाको हुँदैन । कोही पछाडि नछुटून् भन्ने दिगो विकास लक्ष्य लिएको नेपालले महिलालाई त छुटाउनै मिल्दैन । नेपालले दृढ इच्छाशक्ति राखी समावेशी ढंगबाट स्तरोन्नतिको तयारी गर्नुपर्छ । मध्यम आय भएका धनी मुलुकहरूको पंक्तिमा पुग्न हतार गर्नुभन्दा ठोस प्रमाणहरू जुटाउनु र बृहत् छलफल गर्नुपर्छ । स्तरोन्नति महिलाका लागि ‘उही डोको ऊही नाम्लो’ नहोस् ।-कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गत वर्षको आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी ४ प्रतिशतले बढ्यो
  • २०८० श्रावण २८, आईतवार ०८:४१
  • In "थप"
  • एमएमसी परियोजना नेपाली जनताको लाभ दायक हो
  • २०८० श्रावण २८, आईतवार ०८:४१
  • In "देश"
  • नेपालमा झन् बढ्यो भ्रष्टाचार : ट्रान्सपरेन्सी इन्टरनेशनल
  • २०८० श्रावण २८, आईतवार ०८:४१
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

“ILO 169 र UNDRIP पछिको नेपाल: स्वदेशी अधिकार, पहिचान र आत्मनिर्णयको संघर्ष”

“महान सहिद रामवृक्ष यादवको आत्मा रुदैछ, किनकि माओवादीहरू बाटोभुले”

संगठन र सत्ता बीच सन्तुलन नै काँग्रेसको पुनर्जागरणको आधार

प्रदेश खारेजी होइन, सशक्त प्रदेश हाम्रो अधिकार हो

Next Post

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version