नेपालगन्ज । बाँकेको भारतसँग जोडिएको नेपालगन्जको जमुनाह नाका दुई दिन बन्द हुने भएको छ । बाँकेको सीमावर्ती भारतीय बहराइच जिल्लामा हुने नगरपञ्चायतको निर्वाचनका लागि जमुनाहा नाका दुई दिनका लागि बन्द हुने भएको हो ।
नेपाल र भारतको खुला सीमा नाकाका कारण निर्वाचनका बेला हुने सुरक्षा चुनौतीका लागि दुवै सीमावर्ती जिल्लाका सीमा नाका दुई दिनका लागि बन्द गर्ने निर्णय भएको हो ।
यही वैशाख १९ गते राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने बाँके प्रहरीले जानकारी दिएको छ ।
त्यस अवधिमा एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई भने दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउजाउ गर्ने दिने सहमति भएको छ । बहराइचमा वैशाख २१ गते नगरपञ्चायतको निर्वाचन हुँदैछ ।