रुसी सेनाले खासगरी युक्रेनी राजधानी किभलाई लक्षित गरी आक्रमण गरेको भए पनि खर्किभ, ओडेसा, लभिम र जाइतोमिरलगायतका सहरमा पनि विस्फोटका आवाजहरू सुनिएका बीबीसीले उल्लेख गरेको छ । बिहीबारको आक्रमण रुसले गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेयताकै ठूलोमध्येको भएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखाइलो पोडोलायकले १ सय २० वटा क्षेप्यास्त्र सार्वजनिक संरचनामा प्रहार गरिएको बताएका छन् । तीमध्ये कम्तीमा ५४ वटा क्षेप्यास्त्र युक्रेनी सेनाले निस्तेज पारेको दाबी गरेको छ ।
ओडेसा प्रान्तका क्षेत्रीय नेता मक्सिम मार्चेन्कोले करिब ५ घण्टासम्म लगातार ‘युक्रेनमाथि भीषण क्षेप्यास्त्र आक्रमण’ गरिएको बताए । युक्रेनको हवाई सेनाले विभिन्न दिशाबाट एकैपटक आक्रमण गरिएको जनाएको छ । दक्षिणी सहर माइकोलेभमा हवाई फौजले ५ वटा क्षेप्यास्त्र निस्तेज पारेको सहरका गर्भनर भिताली किमले बताए । उनका अनुसार
पछिल्लो समय रुसले युक्रेनका प्रमुख सहरलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ । रुसी फौजले ऊर्जा केन्द्र लगायतका सार्वजनिक संरचनालाई लक्षित गर्दै आक्रमण बढाएको युक्रेनी अधिकारीहरूको भनाइ छ । जसका कारण लाखौं मानिसहरू चिसोमा कठ्यांग्रिन बाध्य भएका छन् ।
युक्रेनी ऊर्जामन्त्री हर्मन हालुसचेन्कोले ऊर्जा केन्द्रमाथिको आक्रमणका कारण ओडेसा र किभको अवस्था निकै असहज भएको बताएका छन् । लभिभका मेयरका अनुसार कम्तीमा ९० प्रतिशत सहरमा विद्युत् आपूर्ति बन्द भएको छ । त्यस्तै, किभमा ४० प्रतिशत घरमा बिजुली छैन । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी आक्रमणका कारण हजारौं युक्रेनी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अर्बौं डलर बराबरको भौतिक संरचना ध्वस्त भएको जनाइएको छ ।
आक्रमण सुरु गरेयता रुसले युक्रेनका विभिन्न क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको थियो । तर पछिल्लो समय कतिपय क्षेत्रहरू युक्रेनले फिर्ता लिएको छ । जसका कारण रुसी फौजले ऊर्जालगायत पूर्वाधारलाई केन्द्रित गरी आक्रमण गरेको युक्रेनी अधिकारीहरूको दाबी छ । पछिल्ला दिनमा रुसी फौजले नियोजित रूपमा सर्वसाधारणका संरचनामा आक्रमण गरेर युद्ध अपराध गरेको पश्चिमा देशहरूको आरोप छ । तर उक्त आरोप रुसले अस्वीकार गर्दै आएको छ । पछिल्लो समय रुसलाई क्राइमियासँग जोड्ने पुलमा विस्फोट गराइएपछि आक्रामक बनेको रुसले युक्रेनका ऊर्जालगायतका पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको हो । युक्रेन आक्रमणका लागि आवश्यक सैन्य हतियार ओसारपसारका लागि रुसले बाटो प्रयोग गर्दै आएका कारण उक्त पुललाई युक्रेनी फौजले निसानामा परेको हो ।
सन् २०१८ मा केर्च पुल मार्गको उद्घाटन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शताब्दीकै उत्कृष्ट संरचना’ भएको दाबी गरेका थिए । जसका कारण क्रुद्ध बनेका राष्ट्रपति पुटिनले युक्रेनमा देशव्यापी आक्रमणका लागि निर्देशन दिएको जनाइएको छ । आक्रमण सुरु गरेयता रुसले चारवटा क्षेत्रलाई भने आफूमा गाभेको छ । पाँच दिन लगाएर जनमतसंग्रह गरी रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई आफूमा गाभेको हो ।
रुसी अधिकारीहरूका अनुसार जनमतसंग्रहमार्फत ती क्षेत्रका अधिकांश युक्रेनीले रुसमा गाभिने पक्षमा मत दिएका थिए । उक्त कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने रुसी कदमको झल्को दिएको थियो । अमेरिका, युरोपेली संघलगायत पश्चिमा शक्तिले भने रुसले गरेको जनमतसंग्रह अवैधानिक घोषित गरेका थिए ।
रुसले सुरक्षाकर्मी र कर्मचारीमार्फत सर्वसाधारणलाई प्रभावित पारेको भन्दै जनमतसंग्रह औपचारिकता मात्रै भएको पश्चिमा देशहरूको दाबी छ । जसका कारण अमेरिका तथा युरोपेली संघले रुसविरुद्ध थप प्रतिबन्धहरू जारी गर्ने घोषणासमेत गरिसकेका छन् । नियन्त्रणमा लिएमध्येको ठूलो सहर खेर्सनबाट भने रुसले सेना फिर्ता गरिसकेको छ । ईकान्तिपुर



















