प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरू भएको विरोध प्रदर्शन कतारको राजधानी दोहासम्म फैलिएको छ
तेहरान/दोहा — धार्मिक प्रहरीद्वारा पक्राउ परेकी इरानी युवतीले हिरासतमा ज्यान गुमाएपछि सुरु भएको विरोध प्रदर्शन पुनः चर्केको छ । कुर्दिस्तानस्थित आफ्नो घरबाट इरानको राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले सेप्टेम्बर १३ मा पक्राउ गरेको थियो । पक्राउ परेको तीन दिनपछि उनले हिरासतमा ज्यान गुमाएकी थिइन् ।
प्रहरीले भने हिजाबसम्बन्धी नियमको प्रशिक्षणका क्रममा हृदयाघात भएपछि अमिनीको मृत्यु भएको बताएको थियो । तर उनको पारिवारिक सदस्यका अनुसार पक्राउ पर्नुअघि अमिनीमा कुनै स्वास्थ्य समस्या थिएन ।
पक्राउपछि अमिनीलाई प्रहरी भ्यानमा राखिएको र टाउकोलगायतका अंगमा कुटपिट गरिएको प्रत्यक्षदर्शीले देखेका बीबीसीले जनाएको छ । उनका बुबा अमजादले ‘मृत्युपछि अमिनीको अनुहार र खुट्टा मात्र देखिने गरी शव दाहसंस्कारका लागि तयार गरेर राखिएको र आफूलाई हेर्न नदिइएको बताएका थिए । उनको मृत्युपछि इरानी राजधानी तेहरानलगायत विभिन्न सहरमा विरोध प्रदर्शन चर्केको थियो । प्रदर्शनकारीमाथि सरकारी फौजले चरम दमन गरेको र त्यसका क्रममा ४० जनाभन्दा बढीको ज्यान गएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार करिब ८ सयजना पक्राउ परेका थिए ।
त्यसलगत्तै केही शान्त बनेको इरान पछिल्लो समय फेरि तातिएको छ । इरान सरकारले ‘अल्लाहसँग दुश्मनी गरेको’ भन्दै ६ जना प्रदर्शनकारी एक साताअघि मृत्युदण्ड दिएपछि प्रदर्शन चर्केको हो ।