काठमाडौं- सप्तरी-२ मा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई यसपटक जित निकाल्न निकै सकस भइरहेको छ। उनविरुद्ध सिके राउतले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेसँग तालमेल गरे पनि उनलाई मत पाउने सम्भावना निकै कम छ।
यसअघि स्थानीय निर्वाचनमा छोराको पराजय देखेका जसपा अध्यक्ष यादव आफ्नो व्यक्तिगत स्वार्थका लागि जससँग पनि तालमेल गरी घाँटी जोड्न पुग्ने उनको राजनीतिक नीति र सिद्धान्त कमजोर भएको भन्दै मतदाताहरु पनि उनीसँग सन्तुष्ट छैनन्।
जसका कारण उनी आफू चुनाव जित्नका लागि जुनसुकै हतकण्डा अपनाउन पनि तयार देखिन्छन्। उनले समाजमा अलि प्रभाव भएका सरकारी कर्मचारी, शिक्षक र चिकित्सकहरुलाई दबाब सिर्जना गर्दै प्रचार-प्रसारमा हिँडाउने गरेका छन्। उनले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै यस्तो कदम चालिरहेका छन्।
उनको चुनावी प्रचार-प्रसारमा सहभागी भएको भन्दै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। झालाई २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको हो।
डा. झाले सप्तरी जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादव प्रचारप्रसार गरेको देखिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता,२०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन भन्ने व्यवस्था छ।
स्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता,२०७९ र प्रचलित सार्वजनिक सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुन्छ, हुँदैन? तपाईंबाट उक्त कार्य भएको भए किन कानून बमोजिम कारवाही हुनु नपर्ने हो?’
यसरी उनले आफ्नो प्रचारमा सहभागी गराएका अन्य सरकारी ओहदामा रहेका व्यक्तिहरुलाई पनि स्पष्टिकरण सोध्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ।