काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको खोक्रो राष्ट्रवादलाई काउन्टर दिएका छन् ।
कुटनीतिक सम्वादका माध्यमबाट हल गर्नुपर्ने सीमा समस्यालाई उचालेर तनाव बढाउने र यसैलाई चुनावी मुद्दा बनाएर जनतालाई भ्रममा पार्ने काम एमाले नेतृत्वबाट भइरहेका बेला प्रधानमन्त्री देउवाले भाषण र गफ दिएर समस्या समाधान नहुने जवाफ दिएका हुन् ।
भाषण गरेर गुमेको भूभाग फिर्ता हुन नसक्ने भन्दै देउवाले ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान चुनौती नै दिए ।
ओलीले आफू एक्लैले चुच्चे नक्सा जारी गरेको जस लिँदै गुमेको भूमि फिर्ता ल्याउन एमालेलाई जिताउन भन्दै सीमा समस्यालाई चुनाव जित्ने अस्त्रका रुपमा फ्याकेका थिए । संसदको सर्वसम्मत निर्णयबाट कायम भएको चुच्चे नक्सालाई एकल जस लिने र भाषणबाटै भूमि फिर्ता ल्याइदिने भ्रम ओलीले चुनाव जित्ने प्रयोजनका लागि फैलाउन थालेपछि प्रधानमन्त्री देउवाले खण्डन गरेका हुन् ।
डडेल्धुराको भद्रपुरमा बोल्दै देउवाले भने, ‘चर्का भाषणले मात्र सीमा विवाद समाधान हुँदैन । भाषण गरेर फिर्ता हुने भए काठमाडौंमै भाषण गरे भइहाल्थ्यो नि । सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ । यस्तो संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनूचित हो ।’
देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धतासमेत जनाए ।
चीनसँगका सीमा विवाद पनि कूटनीतिक पहलकै आधारमा समाधान हुने विश्वास व्यक्त गर्दै उनले थपे, ‘भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ, त्यो हामी गरिरहेका छौँ ।’
राजनीतिक जीवनको सुरुवातबाट नै सुदूरका हरेक जिल्ला र नेपाली भूमिबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले नक्सा, सीमा सम्झौताका आधार र तथ्यमा टेकी वार्ताबाट नेपाली भूमि फिर्ता ल्याउने उद्घोष गरे ।