काठमाडौं । यसवर्षकी विश्व सुन्दरी क्यारोलिना बिलवस्काले नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेकी छन् । आफूलाई नेपालको प्राकृतिक सौन्दर्यबारे जानकारी रहेको बताउँदै एकदिन अवश्य घुम्न आउने बताएकी छन् ।
लण्डनमा सम्पन्न दिगो विकासका लागि विश्वव्यापी लगानी सम्मेलनमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै उनले आफूलाई हिमाल र गौतम बुद्धको देश घुम्ने इच्छा भएको बताएकी हुन् ।
क्यारोलिनँगै मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरेकी पूर्वमिस नेपाल नम्रता श्रेष्ठले प्रस्तुत गरेको व्यूटी विथ पर्पसको चिनारी भिडियोको स्मरण समेत उनले गरिन् ।

नेपालीमूलका हवाइ व्यवसायीको हवाइ कम्पनी हिमालय जेटको निम्तोमा लण्डन पुगेकी उनले नेपालीको आत्मियता, न्यानो आतिथ्य र प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याएको समेत बताइन् ।
पोल्याण्डकी २३ वर्षिया सुन्दरी क्यारोलिनले मिस वर्ल्ड उपाधि जितेपछि आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएकी थिइन् । हवाइ जेटले युरोप र एसियामा चाँडै सेवा दिने तयारी गरिरहेको जेटका निर्देशक दीपेन्द्र गुरुङले जानकारी दिए ।
मिस वर्ल्ड क्यारोलिनको उपस्थितीले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने आशा उनले व्यक्त गरे । हिमालय जेट र मिस वर्ल्डबीच सहकार्य गरेर अघि बढ्ने तयारी भैरहेको पनि उनले जनाएका छन् ।
मिस वर्ल्डमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने समेत गुरुङले जानकारी दिए । उक्त कार्यक्रममा मिस वर्ल्डकी अध्यक्ष जुलिया एभलिन मोर्लीका छोरा तथा कार्यकारी निर्माता स्टिफन मोर्लीले मिस वर्ल्डको ७२ औं संस्करण हिमालय क्षेत्रमा आयोजना गर्ने तयारी भैरहेको बताए । हिमालय क्षेत्र भन्नुको अर्थ के नेपालमा मिस वर्ल्ड हुनेछ ? त्यो संकेत उनले गरेका छन् ।