काठमाडौँ — भारतको दिल्ली प्रहरीले पहिचान बदली एक नेपाली नागरिकका रूपमा बस्दै आएकी चिनियाँ महिलालाई पक्राउ गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार चीनको हेनान प्रान्तकी स्थायी बासिन्दा काई रुओलाई दिल्ली प्रहरीले गत सोमबार पक्राउ गरेको हो ।
प्रहरीले ती महिला भारतविरोधी गतिविधिमा संलग्न भएको पाइएको समेत दाबी गरेको छ । उनले दिल्लीमा लामो समयदेखि आफूलाई नेपाली नागरिक बताउँदै आएको दिल्ली प्रहरीले जनाएको छ । उनलाई उत्तरी दिल्लीको मजनूका टीला क्षेत्रबाट गिरफ्तार गरिएको हो ।
दिल्ली प्रहरीका अनुसार ती महिलाको साथबाट डोल्मा लामा लेखिएको नक्कली नेपाली नागरिकता प्रमाणपत्रसमेत भेटिएको छ । ‘सोमबार दिउँसो १ बजेतिर दिल्लीको मजनूका टीला क्षेत्रबाट एक जना चिनियाँ महिलालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा उनीबाट काठमाडौंको स्थायी बासिन्दा भएको डोल्मा लामा नाममा जारी भएको नेपाली नागरिकता प्रमाणपत्रसमेत भेटिएको छ,’ दिल्ली प्रहरीलाई उद्धृत गर्दै एएनआईले लेखेको छ ।
ती महिला सन् २०१९ मा चिनियाँ राहदानीमा भारत भ्रमणमा आएको देखिएको पनि प्रहरीले जानकारी दिएको छ । उनलाई अनुसन्धानका लागि १४ दिन प्रहरी हिरासतमा पठाइएको छ । ईकान्तिपुर बाट














