काठमाडौं । आगामी निर्वाचनका लागि निर्वाचन आयोगले दिएको समयसीमा अनुसार हालसम्म ८ वटा राजनीतिक दलले मात्रै प्रतिनधि सभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएको छ ।
निर्वाचन आयोगका समानुपातिक निर्वाचनका सहायक निर्वाचन अधिकृत यज्ञ भट्टराईले दिएको जानकारी अनुसार हालसम्म ८ राजनीतिक दलले मात्रै नाम बुझाएका छन् । भने अन्य राजनीतिक दलका नेताहरु नाम बुझाउन आयोगको कार्यालय पुगेका छन् ।
त्यसो त प्रदेशसभा तर्फ २३ राजनीतिक दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । उनले दिएको जानकारी अनुसार हालसम्म प्रदेश नं १ का ४, मधेश प्रदेशका ४, बागमती प्रदेशका ५, गण्डकीका ४, लुम्बिनीका ४, कर्णालीका ३ र सुदूरपश्चिमका ६ राजनीतिक दलले बन्दसूची बुझाएका छन् ।
त्यसैगरी हालसम्म ३२ राजनीतिक दलले बन्दसूचीका लागि रसिद काटिसकेका छन् ।
‘हालसम्म प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ २३ राजनीतिक दलले बन्दसूची बुझाएका छन्’ उनले भने, ‘हालसम्म ३२ राजनीतिक दलले बन्दसूचीका लागि रसिद बुझाएका छन् । अन्य राजनीतिक दलहरु लाइनमा रहेका छन् ।’
मंसिर ४ गते हुने निर्वाचनका लागि सोमबार र मंगलबारका लागि समानुपातिकको बन्दसूची बुझाउने समय तोकेको थियो । तर सोमबार २ राजनीतिक दलले मात्रै बन्दसूची बुझाएका थिए । ठूला राजनीतिक दलले नामावली पार्टीभित्र सहमती गरेका कारण बन्दसूची तयार गर्न ढिलाइ भएको हो ।
आयोगले दिएको समयसीमाका आधारमा राजनीतिक दलले नाम नबुझाउँदा भोलि बिहानसम्म प्रक्रिया रहने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।