काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
पछिल्लो पटक भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ । डिजेलमा भने प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा रहेको भन्दै निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने जनाएको छ ।
आईओसीबाट पछिल्लो दुई पटक मूल्यसूची घटेर आएको छ । यसमध्ये यही अगस्ट १ तारिखमा डिजल/मट्टीतेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । अघिल्लो पटक १५ जुलाईमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेसँगै पेट्रोलियम पदार्थको मूल्य समेत घट्न थालेको हो ।