धनुषा : कोरोना रोकथाम र नियन्त्रणका लागि लागु भएको निषेधाज्ञा धनुषामा खुकुलो भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार जारी गरेको आदेशमा निषेधाज्ञालाई खुकुलो बनाइएको हो।
आइतबार राति १२ बजेदेखि अशोज ४ सम्म लागु हुनेगरी किराना, फलफूल तथा तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।
यसैगरी निषेधितबाहेक अन्य पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ। यसअघि अपरान्ह २ बजेसम्म मात्र पसल सञ्चालन गर्न सकिने निर्णय स्थानीय प्रशासनले गरेको थियो।
जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समितिको बैठकमा यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
जिल्लाभित्र जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सबै प्रकारका निजी सवारी साधनहरु सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ।
यसैगरी सबै स्वास्थ्यसम्बन्धी मापदण्ड कार्यालय प्रमुखले पालना गर्न लगाइ कार्यालयहरुका सबै सेवा सुचाररु हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
यस अवधिमा शैक्षिक संस्था, सभा गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, ब्युटी पार्लर तथा सार्वजनिक सवारी साधन सञ्चालन तत्काल निषेध नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।