एजेन्सी । पाकिस्तानमा पेट्रोलियम ढुवानीकर्ताहरुले आन्दोलनको चेतावनी दिएका छ्न । अहिले पाकिस्तानमा पेट्रोल ढुवानीको ज्याला वृद्धि गर्न माग गर्दै आन्दोलन घोषणा गरेका छ्न । यदि सरकारले उनीहरुका माग पूरा नगरे अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका हुन ।
पेट्रोलियम ढुवानीकर्ताहरुको ज्याला सन् २०११ देखि नै नबढाइएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन्। मुलुकमा हरेक वर्ष पेट्रोलियम पदार्थसहित अन्य उपभोग्य वस्तुको मूल्य आकाशिए पनि आफ्नो ज्याला विगत ११ वर्षदेखि नबढेको भन्दै ढुवानीकर्ताहरुले आक्रोश व्यक्त गरेका हुन्।
अखिल पाकिस्तान आयल ट्यांकर सञ्चालक एसोसियसनका प्रवक्ता इस्रार अहमतले आफ्नो मुद्दाहरु एक साताभित्र पूरा गर्न सरकार असफल भएमा अर्को बुधबारदेखि अनिश्चितकालिन जक्का जाम गर्ने चेतानवी दिए। उनले उक्त आन्दोलनमा ४० हजार ढुवानीकर्ताहरु सहभागी हुनेसमेत उनले बताएका छन्।
पाकिस्तानमा कराँचीदेखि देशभरका विभिन्न भागमा करिब ४० हजार ढुवानीकर्ताहरु रहेको र उनीहरुले विगत ११ वर्षदेखि एउटै ज्यालामा काम गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ। यदि ढुवानीकर्ताहरुले चक्काजामको घोषणा गरेमा मुलुकमा पेट्रोलियम पदार्थको संकट हुने भएको छ।
ट्यांकरहरुले समुद्री बन्दरगाह र देशभरका विभिन्न भागमा पेट्रोलियम पदार्थको ढुवनी गर्दै आएका छन्। उनीहरुले सहरको पेट्रोलियम पदार्थ बजारीकरण विभागको मुख्यालय अगाडि बसेर धर्ना दिनेसमेत बताएका छन्।