संजय यादव,सिरहा
११ पुस, २०७८
जनमत पार्टी सिरहाद्वारा आह्वान गरेको आमहड्तालमा प्रहरीको व्यापक दमन भएको छ । प्रहरीले आन्दोलनकारी माथी अन्धाधुन्ध लाठीचार्ज तथा दर्जनौ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् । सवारी साधनमा तोडफोड तथा आगजनी गरेको आरोपमा जनमत पार्टीका १२ जना आन्दोलनकारीलाई पक्राउ गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए । उल्लेख्य संख्यामा रहेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले पनि हातहातमा लाटीफराठी लिई प्रहरी–प्रशासन मुर्दाबाद, शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन बन्द गर, पक्राउ परेका किसानलाई अविलम्ब बिनासर्त रिहा गरी मुद्दा फिर्ता गर जस्ता नारा घन्काउँदै प्रहरीसंगको झडपमा ढुंगामुढा समेत गरेका थिए । आमहडताललाई अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम लोकमार्गको गोलबजार, मिर्चैया, लाहन चोहर्वा लगायको स्थलमा आन्दोलनकारीहरुले दर्जनौ सवारीसाधनमा तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन् । सिरहा बन्दको आहवानले गर्दा पूर्णरूपमा सवारी साधन बन्द रहेका छन् भने शैक्षिक संस्था उद्योग कलकारखाना, बजार लगायत पूर्णरुपले ठप्प रहेका छन् । बाहिरको जिल्लाबाट आएको सवारीसाधनलाई प्रहरीले स्कटिङ्ग गरी जिल्ला कटाउने गरेका छन् ।
सिरहा जिल्लामा सुरक्षा कडा पारिएको सिरहा प्रहरीले बताए । सिराहाको औरही गाउँपालिकामा किसानहरुले गहुँको बीउ लुटिएको भन्दै चार जना किसानमाथी जिल्ला प्रशासन कार्यालय सिरहामा मुद्दा लगाएका छन् भने एकजना किसान कारीरामm यादवलाई पक्राउ गरिसकेको सिरहा प्रहरीले बताए । यता किसानको लागि पूर्ण अनुदानमा आएको गहुँको बीउ औरही गाउँपालिकाको लापरबाहीले व्यवस्थापन गर्न नसकेपछि आक्रोशित किसानहरुले गोदामबाट आफै बीउ लिएर गएको स्थानीय एक जना किसानले बताए । जनमत पार्टी सिरहाले गिरफ्तार गरिएका किसानलाई बिनाशर्त रिहा गर, किसान उपर लगाइएका झुठा मुद्दा फिर्ता गर, किसानको लागि समयमै मल, बीउ र खादको व्यवस्था गर, स्थानीय निकायमा भएकोे भ्रष्टाचारको छानविन गरी दोषीलाई जेल चलान गर जस्ता माँग राखी पुस ११ गते आइतबार सिराहा जिल्लामा आमहडतालको आहवान गरेको अन्दोलन समिति सिंरहाका पवन यादवद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्ति मार्फत जनाए ।
आन्दोलनको निकासको लागि सिरहा प्रशासनले कस्तो पहल गरिरहेछ भन्ने प्रश्नमा सिरहा जिल्ला प्रमुख अधिकारी लालबाबु कवारीले प्रहरी परिचालन गरी आन्दोलनलाई साम्य पारेको र सवारी तोडफोड तथा आगजनीमा संलग्न १२ जनालाई गिरफ्तार गरिएको र आवश्यक कानुन अनुसार कारबाही हने बताए । र मुद्धा लागी फरार रहेकाहरूको पनि चाँडै पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी कवारीले बताए ।