काठमाडौं । हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै ताइवानमा आप्रवसीहरुको संख्यामा वृद्धि भएको छ । ताइवानमा पछिल्लो समय शरणका लागि भाग्ने हङकङबासीहरु अधिक रहेको जनाइएको छ।
चिनियाँ हस्तक्षेपको सामना गरिरहेको ताइवानले हङकङबासीहरुलाई शरण दिइरहेको छ । अपनत्व र सांस्कृतिक एकरुपताका कारण हङकङबासीहरु हङकङमा कानुको फन्दामा परिने त्रासका कारण हङकङ जाने गरेका छन् ।
ताइवान सरकारले हङकङबासीहरुलाई सहयोग गर्नका लागि जुलाई १ देखि नयाँ कार्यालय स्थापना गरेको छ । ताइवानमा बसोबास गर्न चाहने आप्रवासीहरुका लागि उक्त कार्यालयमार्फत सहयोग गरिँदै आएको छ। हङकङमा चीन सरकारले नयाँ सुरक्षा कानुन लागु गरेर कार्यान्वयन गर्न थालेसँगै चीन सरकारको कारबाहीमा पर्ने र यातना भोग्नुपर्ने अथवा मारिनुपर्ने त्रासका कारण हङकङबासीहरु सहर छोडेर भाग्न थालेका हुन् ।
हङकङमा गत वर्ष चीनसँगको सुपुर्दगी विधेयकको विरोधमा व्यापक विरोध प्रदर्शन भएको थियो । उक्त विरोध प्रदर्शनलाई साम्य पार्न चीनलाई हम्मेहम्मे भएको थियो । जसका कारण उक्त विधेयक खारेज गर्नुपर्यो । फेरि हङकङमा प्रजातन्त्र र स्वतन्त्रताको माग गर्दै आन्दोलन हुन थालेपछि चीनले नयाँ सुरक्षा कानुन लागु गर्दै हङकङको स्वायत्तार स्वतन्त्रताको अन्त्य गरेको हो ।
सन् १९९७ मा हङकङबाट आफ्नो उपनिवेश हटाउँदा बेलायतले हङकङको ५० वर्षको स्वतन्त्रता र स्वायत्ताको ग्यारेन्टी गरेको थियो । तर, चीनले २३ वर्षमै उक्त सम्झौताको उल्लंघन गर्दै हङकङमाथि दमन सुरु गरेको हो । जसका कारण त्यहाँ चीन सरकारको यातनाको सामना गर्नुपर्ने, जेल जानुपर्ने तथा मारिनुपर्ने त्रासका कारण नजिकको ताइवान जाने क्रम बढ्दो छ ।