काठमाडौं : सरकारले उपत्यकामा रहेका होटललाई आइसोलेसनको केन्द्रको रुपमा सूचीकृत गर्ने भएको छ। कोभिड केन्द्रमा बेडको अभाव हुँदै गएकोले सरकारले होटललाई आइसोलेसनलाई केन्द्र बनाउन लागेको हो। संक्रमितलाई राख्नको लागि प्रतिदिन र प्रतिव्यक्ति २ हजार शुल्क भुक्तान गर्नेगरी होटललाई आइसोलेसन बनाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारीले दिए। संक्रमितले आफ्नै खर्चमा बस्न चाहेमा स्वास्थ्य विभागले स्वीकृती दिने उनको भनाइ छ। सातै प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत निर्णय भइसकेको उनले जानकारी दिए। उनले भने, ‘स्वास्थ्य सेवा विभागलाई होटल आइसोलेसन सम्बन्धी निर्देशिका तयार गरी चाँडो पेश गर्न निर्देशन दिइसकिएको छ।‘ आइतबार मुलुकभर १ हजार २ सय २१ संक्रमित बढेका छन्। २ सय ६७ संक्रमित कोरोना मुक्त भइ डिस्चार्जसमेत भएका छन्। गौतमका अनुसार आज आइतबार देशभर १२ हजार ७ सय १७ जनाको पिसिआर गरिएको छ। त्यस्तै, देशभर आज १७ हजार ५ सय १८ सक्रिय संक्रमित रहेका उनले बताए। काठमाडौंमा ३ सय ७२ भक्तपुरमा १२ र ललितपुरमा ४५ गरी उपत्यकामा ४ सय २९ संक्रमित थपिएका छन्। साथै ७ हजार ७ सय ९७ जना अझै क्वारेन्टाइनमा रहेका उनले बताए। हालसम्म ५४ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। त्यस्तै आज मकवानपुरमा ९ जना, रसुवामा ३, काभ्रेमा २५, चितवनमा ९०, धनुषा ७५ र बारामा ८२ जना थपिएका छन्। thahakhabar