धनगढीः कैलालीमा सुदूरपश्चिम प्रदेश सरकारले ४३ लाखको लागतमा निर्माण गरेको नहर एक महिनामै भत्किएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ को भुगुडा खोलामा निर्माण गरिएको सिँचाई नहर निर्माण सकिएको एक महिनामै भत्किएको हो।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले उपभोक्ता समिति मार्फत ४३ लाखमा निर्माण गरेको नौ सय ६० मिटर पक्की नहर एक महिनामै भत्कीएपछि कमसल काम भएको आशंका गरिएको छ।
६० लाख लागत रहेको भुगुडा सिँचाई योजनाको नौ सय ६७ मिटर पाईप लाईन विस्तार गर्ने योजना भएपनि लकडाउनको कारण देखाउँदै काम भएको छैन्। तर ४३ लाखको लागतमा गत महिना सम्पन्न भएको नहर भने भत्किएको हो।
उपभोक्ता समिति र जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयको मिलेमतोमा आर्थिक अनियमितता गर्दै कमसल काम भएपछि नहर भत्किएको स्थानीयले बताएका छन्।
तर भुगुडा खोला जल उपभोक्ता समितिका सचिव भरत थापाले नहर माथिबाट आएको पहिरोले भत्कीएको बताए। उनले मिलेमतोमा कमसल काम भएको आरोपमा सत्यता नभएको बताउँदै प्राकृतिक प्रकोपबाट नहर भत्किएको जनाए।