काबुल । अफगानिस्तानको दक्षिणी क्षेत्रमा रहेको कान्दाहार सहरको एक शिया मस्जिदमा भएको विष्फोटमा परी कम्तिमा ३३ जनाको मृत्यु भएको छ ।
विष्फोटमा ७३ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । घाइतेहरुको अवस्था गभ्मीर रहेको हुँदा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
विष्फोट कान्दाहारको इमाम बारगाह मस्जिदमा भएको हो । विष्फोटको जिम्मा हालसम्म कसैले पनि लिएको छैन ।
विष्फोटपछि तालिवान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सइद खोस्तीले ट्वीट गर्दै घटनामा संलग्नको खोजी कार्य भइरहेको बताएका छन् । उनका अनुसार क्षतिको थप विवरण संकलन भइरहेको छ ।
रोयटर्सका अनुसार तीन जना आत्मघाती हमलाकारीले उक्त विष्फोट गराएका थिए ।
घाइतेहरुलाई अस्पताल पुर्याइएको छ। रगतको अभाव रहेको भन्दै अस्पतालले युवाहरुलाई रगत दिन आह्वान गरेको छ ।
अफगानिस्तानको उत्तरी सहर कुन्दुजको एक मस्जिदमा विष्फोट भएको ठीक एक हप्तापछि कान्दाहारमा विष्फोट भएको हो । उक्त विष्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको थियो ।
इस्लामिक स्टेटका सुन्नी मुस्लिम लडाकुहरुले विगतमा बारम्बार शियाहरुलाई लक्षित गरेका विष्फोट गरिरहेका छन् । एजेन्सी