एजेन्सी : बंगलादेशमा एक फेसबुक पोस्टको कारण हिंसा भड्किँदा दुर्गा पूजा स्थलमा तोडफोड भएको छ ।तोडफोडका कारण कम्तीमा १५० अल्पसंख्यक परिवारमाथि हमला भएको हो ।
अधिकारीहरुले तीन जनाको मृत्यु भएको पुष्टि पनि गरेका छन् । बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजा स्थलमा कुरानको कथित अपमानको अफवाहपछि हिंसा भडकिएको हो । हिंसा भड्किएपछि भारी सुरक्षाबल तैनाथ गरिएको छ ।
प्रहरीका अनुसार हिंसामा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीले अहिलेसम्म थुप्रै हिन्दु मन्दिर, घरहरू र पसलहरूमा तोडफोड गर्ने १० जनालाई पक्राउ गरेको छ । स्थानीयवासीले त्यहाँ यस्तो खालको घटना पहिलोपटक भएको बताएका छन् ।
२०११ को जनगणनाअनुसार बंगलादेशमा १४ करोड ९० लाख जनसंख्याको ८.५ प्रतिशत हिन्दु धर्मालम्बी रहेका छन् । कोमिल्ला जिल्ला सहित अन्य थुप्रै जिल्लाहरूमा हिन्दु समुदायका मानिसको ठूलो संख्या रहेको छ ।
पश्चिम बंगालका थुप्रै संगठनहरूले बुधबार रात भएको हिंसाको निन्दा गरेका छन् । विश्व हिन्दु परिषदले यस घटनाको गम्भीर रूपमा छानविन गर्न माग गरेको छ ।