काठमाडौं । तराई/मधेसमा मनाइने श्रद्धापूर्वक जितिया पर्वको अवसरमा महिलाहरुका लागि प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले सोमवार नै शुभकामना सन्देश जारी गर्दै महिलाका लागि सार्वजनिक विदा दिएको जानकारी गराएका थिए । तीन दिनसम्म मनाइने जितिया पर्वको आज मुख्य दिन हो । जितियाको अवसरमा आज गाउँ गाउँमा मेलाको आयोजना गरिएको छ ।
सन्तानको दीघायूको कामना गर्दै मधेसका हिन्दु महिलाहरुले कठोर ब्रत जितिया मनाउछन् । सन्तान प्रति स्नेह झल्काउने पर्व हो जितिया । सन्तानको दिर्घायूका लागि ३६ घण्टासम्म महिलाहरु उपबास बस्ने गरेकाले जितियालाई कठोर पर्व मानिन्छ ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।














