काठमाडौं । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोध गरेर राष्ट्रवादी बन्ने होड चलिरहेको छ । यसमा नेकपा माओवादी केन्द्र अंग्रपंक्तिमा छ । माओवादी अध्यक्षसँग क्यामेस्ट्री मिलेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि एमसीसीको विपक्षमा छन् । एमसीसीलाई राजनीतिमा गिजोलेका छन् । राष्ट्रघाती भन्दै राष्ट्रवादको भर्याङ बनाएका छन् ।
तर हामीले इतिहास बिर्सनु हुँदैन् । अहिले जसजसले एमसीसीको विरोध गरिरहेका छन् वा राष्ट्रघाती भनिरहेका छन् हिजो तिनीहरु नै एमसीसी नेपालमा ल्याउन मुख्य भूमिका खेल्ने पात्र थिए ।
एमसीसीबारे नेपालमा पहिलो पटक बाबुराम भट्टराई (अहिले जसपा नेता) प्रधानमन्त्री हुँदा २०६८ साल माघ ५ गते प्रक्रिया सुरु भएको थियो । त्यतिबेला माओवादी नेता वर्षमान पुन अर्थमन्त्री थिए । यो बीचमा एमसीसीको सम्झौताका लागि विभिन्न अध्ययन भए ।
जब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भए २०७४ जेठ १८ गते । अर्थमन्त्री थिए कृष्णबहादुर महरा । यी दुबैको पालामा एमसीसीले गति लियो । प्रथम वार्ता कमिटी गठन भयो । यो नै एमसीसी नेपाल आउने टर्निङ प्वाइन्ट बन्यो ।
दुर्भाग्य सम्झौता गर्ने बेला प्रचण्ड प्रधानमन्त्री रहेनन् । आलोपालो प्रणालीअन्तर्गत नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री बने । अर्थमन्त्री थिए ज्ञानेन्द्रबहादुर कार्की । प्रचण्डको पालामा सबै अध्ययन सकेर देउवाको पालामा सम्झौता भयो । २०७४ भदौ २९ गते अर्थमन्त्री कार्कीले न्युयोर्कमा सम्झौता गरे ।
एमसीसीमा हेर्ने हो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुनै ठूलो भूमिका छैन । ओलीले त एमसीसीलाई संसदबाट पारित गराएर मजबुत विकास गर्ने सोचेका थिए । तर जसले सम्झौता ल्याउन महत्वपूर्ण भूमिका निभाए उनीहरुले नै विदेशीको स्वार्थ र आफ्नो राजनीतिक दाउपेचमा एमसीसीमा भाँझो हाले । खासगरी एमसीसी ल्याउन निर्णायक तत्कालीन अर्थमन्त्री महरा पछि सभामुख भएर पास गर्न असहयोग गरे । चीनका खास मानिने महराले यौनकाण्डमा मुछिएर सभामुख पद नगुमाउँदासम्म अत्तो थापिरहे । यसमा प्रचण्डको भूमिका रह्यो ।
अहिले भने यिनै पात्रहरु एमसीसी विरोध गरेर राष्ट्रवादी बन्दैछन् । ओली जसको कुनै भूमिका नै थिएन उनलाई आक्षेप लगाएर राजनीति गरिरहेका छन् ।
माओवादीको यस्तो दोहोरो चरित्रलाई जसपाका प्रवक्ता एवं बाबुराम निकट नेता, विश्लेषक डम्बर खतिवडाले सामाजिक सञ्जाल फेसबुकबाटै पर्दाफास गरेका छन् । माओवादी कमरेडहरुले एमसीसी विरोध गरेर राष्ट्रवादी बन्नुअघि यी तथ्यहरु हेर्नुपर्ने उनको सुझाव छ । ’आफूले गरेको कामको खुलेआम जस लिनुको साटो हल्लाबाट डराउने र पन्छिने माओवादी तरिका शुतुरमुर्गी प्रवृति मात्रै हो,’ खतिवडाले भनेका छन् ।
उनले एमसीसीमा ओली संयोगिक पात्र मात्रै भएको र यो प्रक्रियामा उनको खासै भूमिका र योगदान नभएको उल्लेख गरेका छन् । नेपालपाना