संजय यादव, गोलबजार, सिरहा
माघ २७, मंगलबार
प्रदेश नम्बर २ कै दोस्रो अत्याधुनिक राइस मिलको सिराहामा उद्घाटन भएको छ । वीरगंज पछि सिरहाको धनगढीमाई नगरपालिका वार्ड नम्बर ९ मा अत्याधुनिक कौशल एग्रो राइस मिल प्रा लि को एनसीसी बैंकका कार्यकारी अधिकृत रमेशराज अर्यालको प्रमुख आतिथ्यमा मंगलबार उद्घाटन सम्पन्न भएको छ । प्रमुख अतिथिको आसनबाट कार्यकारी अधिकृत अर्यालले शुभकामना दिँदै भने एनसीसी बैंकले यस क्षेत्रको आर्थिक समृद्धिको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने लक्ष्य अनुसार नै अगाडी बढने प्रतिबद्धता जाहेर गरे ।

अर्का विशिष्ट अतिथि सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले उद्योगको सफलताको कामना गर्दै यहाँबाट उत्पादित चामल देश विदेशमा पनि आफ्नो पहिचान बनाओस भन्दै शुभकामना दिए ।
उद्योगका सञ्चालक महेश साहले भने, ४० करोडको लगानीमा सुरु भएको राइस मिलमा ७० जना कामदारले रोजगारी पाउने बताए । सञ्चालक साह गोलबजारका स्थापित र सफल व्यापारी रहेको स्थानीय व्यापारीहरूको कथन रहेको छ । उद्योग व्यापार संघ गोलबजारका बरिष्ठ उपाध्यक्ष समेत रहेका सञ्चालक साहले विगत लामो समय देखि गोलबजारमा राइस मिल चलाउँदै आइरहेका छन् । सञ्चालक साहले भने, यहाँबाट उत्पादित चामल देशको राजधानी काठमाडौ पोखरा लगायत हरेक क्षेत्रमा पुग्ने र व्यापार संगै सेवाको भावनाले पनि उद्योग सञ्चालनमा ल्याएको बताए ।
कार्यक्रममा वक्ताहरुले यस प्रकारको अत्याधुनिक राइस मिल सिरहाकोे मात्र होइन, प्रदेश नं २ कै शान रहेको बताए ।

















