इलाम। अबिरल वर्षाका कारण इलामका विभिन्न स्थानमा शनिबार गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको छ।
इलाम नगरपालिका-६ घोष गाउँ बस्ने प्रकाश तामाङको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, झापा अर्जुनधारा नगरपालिका-६ बस्ने अर्जुन दनुवारको छोरा ३ वर्षीय आवास दनुवर, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको हो।
यस्तै सन्दकपुर गाउँपालिका-१ छाँगे बस्ने छबि धन राईको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने ४३ वर्षीय भिम बहादुर राई, ६६ वर्षीया हरिमाया राई, सोही गाउँपालिका-४ बस्ने ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, सोही गाउँपालिका-३ बस्ने ७४ वर्षीया सारादा सेडाई र ४८ वर्षीया तारा देवी राईको पुरिएर मृत्यु भएको हो।
यसैगरी माईजोङमाई गाउँपालिका-३ प्याङ बस्ने ८२ वर्षीय बर्मलाल सोङमीको घरमा पहिरो जाँदा बर्मलाल, ७० वर्षीय बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङमी र १४ वर्षीया प्रकृती सोङमीको पुरिएर मृत्यु भएको हो।
यस्तै सूर्योदय नगरपालिका-१ मानेभञ्याङ बस्ने राजु क्षेत्रीको घरमा पहिरो जाँदा ६५ वर्षीया मन माया क्षेत्री, १० वर्षीया रस्मिका क्षेत्री, दोलखा घर भएका ४५ वर्षीय दिप बस्नेत, उनकै श्रीमती ४४ वर्षीया भवानी बस्नेत र छोरी १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको हो।
यसैगरी देउमाई नगरपालिका-५ ढुसेनी बस्ने ३० वर्षीय दिपक लिम्बुको घरमा पहिरो जाँदा दिपक, उनकै श्रीमती २७ वर्षीया ऋषिका लिम्बु, छोरी १० वर्षीया दिपिस्का लिम्बु, भतिजो ९ वर्षीय सौजन लिम्बु र ११ वर्षीय सौगात लिम्बुको मृत्यु भएको हो। साथै प्रहरीले १ जनाको सकुशल उद्दार गरेको छ।
यस्तै देउमाई नगरपालिका-५ झारे बस्ने मन कुमार लिम्बुको घरमा पहिरो जाँदा उनकै छोरा २२ वर्षीय रोशन लिम्बु र बुहारी २२ वर्षीया बेबिसा राईको मृत्यु भएको हो। यस्तै देउमाई नगरपालिका-३ लक्ष्मीबोटे बस्ने गणेश मगरको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण मगरको पुरिएर मृत्यु भएको हो।
यसैगरी माङसेबुङ गाउँपालिका-१ पार्टी गाउँ बस्ने मदन लिम्बुको घरमा पहिरो जाँदा उनकै आमा ५७ वर्षीया कृष्ण माया लिम्बु, फुपु ५० वर्षीया माया लिम्बु र पाँचथर मिक्लाजुङ गाउँपालिका-६ बस्ने १७ वर्षीया नेहा राईको मृत्यु भएको हो। साथै प्रहरीले ५ जनालाई उद्दार गरेको छ।
यसैगरी फाकफोकथुम गाउँपालिका-३ रातमाटे बस्ने २८ वर्षीय सुरेश लिम्बुको घर नजिकै गाईगोठ हेर्न जाने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको हो।
यस्तै माईजोगमाई गाउँपालिका-६ ओडारे बस्ने भक्त बहादुर थेवेको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, ३ वर्षीया मुनुसा थेवेको पुरिएर मृत्यु भएको छ। पहिरो गएका स्थानहरूमा तत्काल स्थानीय प्रहरी टोली खटि गई आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।