काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको एक क्विन्टल सुन प्रकरणका विषयमा निकै आक्रामक भएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पनि नाम जोडिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच भेट भएपछि उक्त मुद्दालाई पक्राउ परेकाबाहेकलाई पक्राउ नगर्ने भन्दै मुद्दा सामसुम पारिएको थियो।
त्यसैगरी सुन तस्करी प्रकरणमा पनि सरकारप्रति र विशेष गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति आक्रामक भएका ओली आइतबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन्।
उनले सुन तस्करी प्रकरणमा दीपक मलहोत्रामाथि अनुसन्धान नगर्न दबाब बढाउँदै आएका थिए। सुन तस्करी प्रकरणलाई सामसुम पार्नकै लागि उच्चस्तरी छानबिन समिति गठनको मागसमेत गरेका थिए।
सोही विषयलाई लिएर संसद् अवरोध गरेको नेकपा एमालेले उक्त भेटपछि संसद् खुलाउन सहमत हुने कि नहुने भन्ने विषयमा सुन तस्करी कसरी अघि बढ्छ भन्ने विषयमा भर पर्ने बताइएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक क्विन्टल सुनको मुख्य मालिक सरकारकै संरक्षणमा रहेकोदाबी गरेका थिए।
ट्याक्सीमार्फत लगिँदै गरेको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्नुअघि मालिक पछ्याउनुपर्नेमा त्यसो नगरिएकाले सरकारी संरक्षण प्रस्टै देखिएको उनले दाबी गरेका हुन्।














