काठमाडौं । चिनियाँ आपराधिक गिरोहका सदस्यलाई नेपाल ल्याउने नाइकेका बेल्जियन नागरिक दावा छिरिङ पहिल्यै प्रहरी अनुसन्धानमा परेको व्यक्ति भएको खुलेको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागको टोलीले आइतबार ठमेलको होटल भियनामा छापा मारेर उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले ७ पुस २०७६ मा काठमाडौंमा उपत्यकाका विभिन्न स्थानमा ‘सर्च एण्ड एरेष्ट’ अपरेसन चलाएर एकैदिन १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । त्यसक्रममा हाल सुन प्रकरणमा पक्राउ परेका दावा पनि अनुसन्धानको दायरामा परेको नेपाल प्रहरीका तत्कालीन एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।
चिनियाँ प्रहरीको समेत उपस्थितिका बीच चार वर्षअघि अपरेसन चलाउनुअघि नेपालस्थित चिनियाँ दूतावासमार्फत् नामै किटान गरेर १५ जना नाइकेको विवरण र उनीहरूको अड्डाबारे जानकारी गृह मन्त्रालयलाई पठाइएको थियो ।














