काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव यही चैत ५ गते हुँदैछ । चुनावका लागि विभिन्न दलका विद्यार्थी नेतादेखि केन्द्रीय नेताहरु यतिखेर विभिन्न तवरबाट सक्रिय छन् ।
कतिपय स्थानमा विभिन्न दलका भातृ संगठनहरु गठबन्धन गरेर चुनाव लड्दैछ भने कतिपय स्थानमा एक्लाएक्लै चुनाव लडिरहेको छ । चुनावको तयारी चलिरहँदा हामीले मधेश प्रभाव क्षेत्र रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष एवं विद्यार्थी नेता चिरञ्जीवी यादवलाई चुनावी अवस्थाबारे सोधेका छौं ।
हामीसँग प्रक्रिया दिँदै उनले मधेशको अधिकांश स्थानमा आफूहरु जितिरहेको दावी गरेका छन् । समग्र देशमै पनि राम्रो नतिजा आउने संकेत देखिएको उनले बताए ।
कतिपय स्थानमा गठबन्धन गरेर र राम्रो अवस्था रहेको अधिकांश स्थानमा एक्लै चुनाव लडिरहेको जानकारी गराउँदै उनले आफ्ना दल समर्थित उम्मेदवारहरुको जित सुनिश्चित रहेको बताए ।
शिक्षाभित्रको अनियमितता अन्त्य, शिक्षामा सुधारका लागि आफ्नो पार्टीसँग मात्र स्पष्ट भिजन भएको उनको भनाइ छ । यसैले पनि विद्यार्थीहरुमा सवियुप्रति गज्जबको उत्साह रहेको उनले जनाए ।
उनले यो चुनावमा जसपा निकट सवियु समर्थित उम्मेदवारलाई मतदान गरी विजयी गराउन विद्यार्थीहरुसँग आह्वान पनि गरेका छन् ।