नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच फुटाउन खोज्ने पश्चिम रुकुमका खीमबहादुर घर्तीलाई पक्राउ गरेको छ । उनी बिहान १० बजे टिकट काटेर २ ठाउँमा सुरक्षा जाँचपछि संग्रहालय छिरेका थिए ।
संग्रहालयको अरू ठाउँको अवलोकन गरेपछि श्रीपेच भएको कक्षमा रुकुम पश्चिम मुसिकोट–११ का खीमबहादुर दायाँ छेउमा भएको खुकुरी भएको सिसा फुटाए । खुकुरी झिकेर ‘म राजा बन्छु’ भन्दै श्रीपेच भएको ठाउँमा जान लाग्दा सुरक्षाका लागि खटिएका नेपाली सेनाका सुरक्षा गार्ड र संग्रहालयका कर्मचारीले नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्रहालयका प्रवक्ता बुद्धि गुरुङले लोकान्तरलाई जानकारी गराए ।
‘दायाँ साइडमा भएको खुकुरी भएको सिसा मुड्कीले फुटाएर श्रीपेच भएको ठाउँमा आउन खोज्दै गर्दा सेक्युरिटीले नियन्त्रण्मा लिनु भएको हो,’ गुरुङले भने ।
उनका अनुसार श्रीपेचमा ५ जना सुरक्षाकर्मी, बाहिरी घेरा, सिसाको घेरा र सेन्सर जडित सुरक्षा भएकाले जो कोहिले हात हाल्न सक्दैनन् ।
संग्रहालयले पक्राउ परेका घर्तीलाई आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि महानरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाएको प्रवक्ता गुरुङले बताए ।
‘उद्देश्य के थियो ? किन हात हाल्यो ? योजना के थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ,’ प्रवक्ता गुरुङले लोकान्तरसँग भने ।
सिसा फुटाउँदा उनको हातमा चोट लागेको छ ।