सर्लाही । सर्लाहीमा टिटानसको सुई लगाउन गएका बिरामीलाई रेबिजको सुई लगाएपछि विवाद भएको छ ।
सर्लाहीको लालबन्दीस्थित लालबन्दी मोडल अस्पतालका चिकित्सकले रेबिजको सुई लगाएपछि विवादले उग्र रुप लिएपछि चार राउण्ड हवाइ फायर भएको हो ।
तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिनको लागि हवाइ फायर गर्नुपरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
शुक्रबार दिउँसो टिटानसको सुई लगाउन गएका लालबन्दी नगरपालिका ६ का एकजना बिरामीलाई अस्पतालका चिकित्सकले रेबिजको सुई लगाएपछि बिरामीका आफन्त र स्थानीयले त्यसको बिरोध गरेका थिए ।
आक्रोसित समूहले अस्पतालमै प्रवेश गरेर चिकित्सकमाथि आक्रमण गर्न खोज्दा प्रहरीले रोकेको थियो ।
अस्पतालमा तनावको स्थिति उत्पन्न भएपछि हवाई फायर गरेर भीडलाई तितरबितर पारिएको समेत प्रहरी निरीक्षक थापाले बताए ।
आक्रोसित समूहले शुक्रबार साँझ केहीबेर पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध पारेका थिए । त्यसक्रममा चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।