काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको अक्सनका लागि आठ नेपाली खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट बोर्डले अक्सनका लागि तोकिएको फेब्रुअरी ४ सम्ममा आठ नेपाली खेलाडीले नाम दर्ता गराएको जनाएको हो ।
यस्तै आगामी सिजनको आइपीएलको अक्सनका लागि भारतीय र विदेशी गरी कूल एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । यसपटक नेपालसहित १५ देशका खेलाडीले नाम दर्ता गराएको बोर्डले जनाएको छ ।
त्यसमा आठ सय १४ जना भारतीय र दुई सय ८३ जना विदेशी खेलाडी रहेका छन् । चेन्नेईमा हुने अक्सन १८ फेब्रेवरीमा दिउँसो सवा तीन बजेबाट शुरु हुनेछ । दर्ता भएका खेलाडीमा २१ जना अनक्याप्ड भारतीय खेलाडी छन् भने १ सय ८६ जना क्याप्ड विदेशी खेलाडी रहेका छन् ।
यस्तै २७ जना एसोसियट खेलाडी छन् । भारतीय टिममा नपरेका तर एक आइपीएल खेल खेलेका ५० खेलाडीले पनि नाम दर्ता गरेका छन् । आइपीएलमा एक खेल खेलेका तर आफ्नो देशबाट नखेलेका दुई विदेशी खेलाडीले समेत यस पटक नाम दर्ता गरेका छन् ।
आइपीएल टिमले बढिमा आफ्नो टिममा २५ खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् । अक्सनबाट कुल ६१ खेलाडी विक्रि हुनेछन् । यो सिजनको आइपीएलमा तीन सिजन खेलेका सन्दिप लामिछाने पनि अक्सनमा जानेछन् । अन्य सात जना नेपाली खेलाडीको नाम भने खुलाइएको छैन ।