भगीरथ भण्डारी
इलाम । माईजोगमाई गाउँपालिका प्याङका श्याम थेबेको पनि विगतका वर्षहरूमा कुचो नबिकेर घरमै मकिएर खेर गयो । गतवर्ष नविकेकै कारण यस वर्ष कुचो नथुत्ने योजनामा रहेका थेबे यसवर्ष मूल्य आएसँगै बगानको सबै कुचो थुति सकेका छन् । माईजोगमाई गाउँपालिकाका सोयाङका सुमन बेगाले आफ्नो अम्लिसो बगानमा खेताला लगाएर कुचो निकाले । गत वर्षकोे तुलनामा कुचोको मूल्य बढेसँगै उनले खेताला लगाएर कुचो निकालेका हुन् । थेबे र बेगा मात्र होईन जिल्लाका कृषक कुचोको मूल्य आएसँगै हर्षित बनेका छन् ।
विगतका वर्षहरूमा प्रतिकिलो ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म गाउँघरमा किनबेच हुने कुचो यसवर्ष प्रतिमन कुचो ५ हजार रुपैयाँदेखि ५ हजार ५ सय रुपैयाँले किनबेच भएसँगै किसान हर्षित बनेका हुन् ।जिल्लाका अधिकांश ठाउँमा हुने कुचोको मूल्य आएसँगै किसानले कुचो थुति सकेका छन् ।
गाई बस्तुलाई हिउँदे घाँसका लागि धेरै जसो किसानले अम्लिसो रोप्ने गर्छन् । अम्लिसो मलिलो, खुला र पाखाबारीमा राम्रोसँग फस्टाउने गर्छ । एक पटक रोपेपछि यसले ११–१२ वर्षसम्म घाँससँगै कुचो उत्पादन दिइरहने हुँदा सबैको घासको रोजाइमा अम्लिसो पर्ने गरेको छ । रोपेको २ वर्षदेखि घाससँगै कुचो उत्पादन हुनुको साथै यसको हेरचाह गर्न खासै मेहनत गर्नु नपर्ने हुँदा गाई भैंसीको लागि मुख्य घाँसको रुपमा किसानहरुले अम्लिसो रोप्ने गर्छन् । यो वर्ष कुचोको भाउ आएकोले व्यापारी घरमै आउने थालेका छन् । ‘भाउको त टुङ्गै हुँदैन । कहिले आउँछ, कहिले आउँदैन’, कुचो किसान मातृका घिमिरेले भने । कुचोको बिक्रीसमेत अन्य वस्तुको जस्तो सहज हुँदैन । काँचो टिपेमा यसको भुँवा झरेर घट्ने सम्भावना बढी हुन्छ ।
यसैले किसानले टिप्ने बेलामा सचेत नभएमा उपयुक्त दाम नपाउन सक्छन् । घिमिरेका अनुसार तयारी चिया, अलैँची जस्ता पदार्थ एक वर्षको उत्पादन अर्को वर्ष बेच्दा मिल्छ । कुचो उत्पादन भएकै वर्ष बेची सक्नुपर्छ । सोही वर्ष नबिके अर्को वर्ष गुणस्तरहीन हुन्छ । पछिल्ला वर्षमा भारतकै ग्रामीण भेगमा अम्लिसो उत्पादन हुन थालेपछि नेपाली कुचोको माग घट्न थालेको थियो ।
कुचो मात्र होईन डाँठ पनि बिक्री
इलामको रोङ गाउँपालिका किसानले अहिले अम्लिसोको कुचो र डाँठ दुवै बिक्री भईरहेको छ । डाँठ पनि बढार्नकै लागि बिक्री हुने गरेको हो । अम्लिसोको डाँठ बेच्नका लागि करिब दुईदेखि अढाइ फिट बनाउनुपर्छ । यसको मूल्य किसानले प्रतिकिलो पाँचदेखि दशसम्म पर्छ । व्यवसायी जीवनहरि भट्टराईका अनुसार यहाँ धेरै पहिलादेखि डाँठ बिक्न थालेको हो । यसको खास प्रयोग चाहिँ कुचोको बीचमा राख्नका लागि प्रयोग हुन्छ । कुचोको मुठा आकर्षक देखाउन व्यवसायीले डाँठ किन्ने गर्छन् । अहिले यो क्षेत्रको अम्लिसोको कुनै भाग पनि खेर जाँदैन ।
‘झापाको नजिकको गाउँपालिका भएकाले पनि किसानलाई बजारको समस्या छैन । भट्टराईले भने, ‘कुचोको माग भारतबाट समेत आउने गर्दछ । झापास्थित धुलाबारी, काँकडभिट्टामा खपत हुन्छ भने भारतसमेत जाने गर्छ । प्रतिकिलोको दरमा बिक्री हुनेभन्दा यसरी कुचो बनाउँदा धेरै आम्दानी हुन्छ । ‘कुचो बनाएर बेच्दा धेरै मूल्यमा बिक्री हुन्छ ।’
कागज बनाउँने उद्योग बन्द
झापामा अम्लिसोको डाँठबाट कागज बन्थ्यो । त्यसबेला किसानसहित व्यवसायीले पनि यसबाट राम्रो मूल्य पाउँथे । झापामा सञ्चालनमा रहेको उद्योग बन्द छ । अहिले नेपालभर यस्तो उद्योग छैन । विगतमा जस्तो मूल्य किसान र व्यवसायीले पाएका छैनन् । यदि स्थानीय स्तरमै उद्योग निर्माण भए किसानले उल्लेख्य मूल्य पाउने व्यवसायी भट्टराई बताउँछन् । झापामा उद्योग सञ्चालन हुँदा कागज मात्रै होइन, डाँठबाटै कार्टुनसमेत बन्थ्यो । व्यवसायी भट्टराईका अनुसार निजी क्षेत्रबाट समेत अम्लिसोका लागि खासै प्रयास नभएका हुन् । अन्य कृषिजन्य पदार्थका संघ/महासङ्घ बनेपछि किसान, श्रमिक वा व्यवसायीको यसतर्फ ध्यान गएको छैन ।
उस्तै कृषिजन्य पदार्थ चिया र अलैँचीमा वर्षेनी प्रोत्साहनका कार्यक्रम आउँदा अम्लिसोका लागि रकम नै नछुटेको गुनासो छ । किसानले धेरै उत्पादन गरेका बेला कम र कम उत्पादन गरेका बेला बढी मूल्य हुने गरेको छ । बजार मूल्यको अस्थिरताका कारणले पनि धेरै किसानले अम्लिसाे विस्थापन गरेर वैकल्पिक खेती गर्न थालेका छन् ।