वीरगंज । राष्ट्रिय एकता अभियानले आइतबार जिल्ला प्रशासन कार्यालय र वीरगंजमा महानगरपालिकामा ज्ञापन पत्र बुझाएकाे छ ।
वीरगंज महानगरपालिकाकाे वडा नं. २१ का वडाध्यक्ष हबिब मियाँले राजहंस घियु उद्याेगकाे प्रभावमा आएर त्यस अगाडीकाे बस्ती मात्र खाली गराएकाे भन्दै अभियानले पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाएकाे हाे ।
वडाध्यक्ष मियाँले जातिय र आर्थिक प्रभावमा आएर उद्याेग अगाडीकाे जग्गामा रहेकाे दलित, गरिब र निमुखा परिवारकाे बस्ती मात्र खाली गराएर अन्यायपूर्ण काम गरेकाे अभियानले आराेप लगाएकाे छ । साविककाे रेल्बेकाे जग्गामा रहेकाे उद्याेग अगाडी जग्गा मात्र खाली गराउनु र वडाध्यक्ष समेतकाे घर साविक कै रेल्बेकाे जग्गा रहे पनि खाली नगराउनु अन्यायपूर्ण भएकाे अभियानले बुझाएकाे ज्ञापन पत्रमा उल्लेख छ ।
रेल्बेकाे जग्गामा रहेकाे वडाध्यक्षसहितकाे घरहरु पनि खालि गराउनु पर्ने अभियानले माग समेत गरेकाे छ । अभियानका केन्द्रिय सदस्य कृष्ण साहकाे नेतृत्वमा बुझाइएकाे ज्ञापन पत्रमा उद्याेगकाे मिलाेमताेमा भएकाे गतिविधि नियन्त्रण गर्दै आवश्य छानविन गरी कारवाही गर्न माग समेत गरिएकाे छ ।