काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल ले केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधिविपरीत, सामान्य प्रक्रियाविपरीत तथा कानुनविपरीत भएको टिप्पणी गरेका छन्।
शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा बोल्दै उनले सरकारले राजनीतिक प्रतिशोधका आधारमा कुनै पनि कारबाही अघि बढाए त्यसको कडा प्रतिकार गरिने चेतावनी दिए।
खनालले भने, “राजनीतिक प्रतिशोधका आधारमा कुनै पनि काम–कारबाही हुन्छ भने हाम्रो पार्टी दृढतापूर्वक प्रतिकार गर्छ। केपी ओली र रमेश लेखकको पक्राउ विधि, प्रक्रिया र कानुनविपरीत गरिएको थियो, तर त्यसलाई सामान्यकरण गरिएको छ।”
उनले सम्पत्ति छानविनका विषयमा पनि पार्टी स्पष्ट रहेको बताउँदै नेपाल कम्युनिष्ट पार्टीका सबै नेताहरू छानविनका लागि तयार रहेको बताए। २०४६ सालपछिको मात्र नभई २००७ सालदेखि नै सम्पत्ति छानविन गर्नुपर्ने उनको माग थियो।
“गलत तरिकाले सम्पत्ति आर्जन गर्ने जोसुकै भए पनि जुनसुकै कालखण्डको किन नहोस्, छानविन हुनुपर्छ,” उनले प्रश्न गर्दै भने, “सरकारले किन केही व्यक्तिलाई जोगाउन खोजिरहेको छ?”
यस्तै, नेता देवेन्द्र पौडेल ले पुराना राजनीतिक दलहरूले केही नगरी देश यहाँसम्म आइपुगेको भन्ने धारणा गलत रहेको बताए। उनले संविधान निर्माण, शासन प्रणाली परिवर्तन तथा सुशासनका क्षेत्रमा भएका कामहरूको उल्लेख गर्दै विगतमा पनि गल्ती गर्ने नेताहरू कारबाहीको दायरामा आएको उदाहरण रहेको बताए।
“पुराना दलहरूले केही पनि नगरे भन्ने कुरा सही होइन,” उनले भने, “देश फिल्मजस्तो सजिलै अघि बढ्दैन। हिजो पनि गल्ती गर्नेहरूलाई कारबाही भएको छ, त्यसैले अहिले नै पुराना र नयाँबीच तुलना गर्ने समय आएको छैन।”














