काठमाडौं। दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५’ विहीबारदेखि काठमाडौमा सुरु भएको छ।
काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी रहेका छन्।
फेस्ट उद्घाटन समारोहमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले फेस्टमा राखिएका वस्तुहरुलाई सरकारले प्रमोट गर्ने र गराउने सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
उनले भने, ‘तपाईहरुले विकास गर्नुभएको कुराहरुलाई सरकारले प्रमोट गर्ने गर्ने र प्रयोग गराउने सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्नेछ। तर सरकारको पनि आफ्नो धेरै सिमितताहरु छन् यो सिमितता पश्चात पनि सहज वातावरण तयार गर्न सरकार लागि परेको छ।’
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार भइसके पनि प्राविधिक कारणले अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ।
लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एयरोस्पेससम्बन्धी उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिएको हो।
कात्तिक २७ र २८ गते दुईदिनसम्म चल्ने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता र जब फेयर समेत सञ्चालन हुनेछन्। फेस्टमा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार, सोसल इन्नोभेसन लगायत विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि सहभागी हुनेछन्। अवलोकनकर्ताले ती प्रडक्ट तथा इन्नोभेसनलाई प्रत्यक्ष अवलोकन गर्ने र भोट गर्ने अवसर पाउनेछन्।
यस्तै, फेस्टमा प्रवेश निःशुल्क हुनेछ, जसले इच्छुक युवाहरूलाई आफ्ना सिर्जनात्मक प्रविधि र इनोभेसन प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। त्यस्तै, प्रदर्शनीमा रहेका स्टार्टअप र प्रडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रडक्ट डेमो र नेटवर्किङ सेसनको व्यवस्था पनि गरिएको छ।
फेस्टमा विभिन्न क्षेत्रका उद्यमी, कर्पोरेट लिडर, नीति निर्माता, उच्च सरकारी अधिकारी, लगानीकर्ता र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहनेछ।
एआईलाई केन्द्रित गरेर सनवे कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ। कलेजले फेस्टमा पनि विभिन्न एआइ प्रोजेक्टहरु प्रदर्शनी गर्नेछ।
यसैगरी सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित मानिने आइसिटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया जारी छ। यसवर्ष अवार्डका लागि सात सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ।
सो अवसरमा आयोजक राजन लम्सालले यस्तो फेस्टले सरकार, निजी क्षेत्र साथै नवयुवाहरुलाई आकर्षित गर्ने बताए। यस्ता कार्यक्रमले स्टार्टअप कम्पनीहरुलाई प्रोत्साहित गर्ने बताए।











