काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले साइबर अपराधसम्बन्धी उजुरीमा डेढ घण्टासम्म बयान दिएका छन् । उनी बुधबार बिहान प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उपस्थित भई लिखित बयान दिएका हुन् ।
ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीका अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि बस्नेतलाई बयानका लागि बोलाइएको थियो । “उहाँ बयान दिएर भर्खरै निस्कनु भएको छ । सरकारी वकिल कार्यालयको निर्देशनअनुसारको काम भएको हो,” अवस्थीले भने ।
ब्यूरो स्रोतका अनुसार बस्नेतले सरकारी वकिल कार्यालयले पठाएका प्रश्नहरूको लिखित रूपमा जवाफ दिएका छन् । सो कार्यालयले तीन वटा टास्क दिएकोमा मध्ये एक — बयानको काम पूरा भएको र बाँकी दुई काम सकिएपछि प्रतिवेदन पेश गरिने बताइएको छ ।
स्रोतका अनुसार बस्नेतले सरकारी वकिल कार्यालयले तयार पारेका केही प्रश्नमा इन्कारी बयान दिएका छन् ।
बस्नेतविरुद्ध शोभा पाठकले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् । अनुसन्धान अघि नबढेपछि केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो । सो निर्देशनअनुसार साइबर ब्यूरोले बस्नेतलाई बयानका लागि बोलाएको हो ।