महेश सिंह लहान सिरहा – केही वर्षअघि सामान्य घरेलु काममा सीमित रहेकी खडक नगरपालिका–५ की सुजाता साह आज आफ्नै मसला उद्योग सञ्चालन गरेर वार्षिक डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएकी छन्। उनको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, खडक नगरपालिकामा सञ्चालन भइरहेको ‘समुन्नति कार्यक्रम’ले ल्याएको परिवर्तनको एक उदाहरण हो।
सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन भएको कार्यक्रमले खडक नगरपालिकाका विद्यालय, स्वास्थ्य संस्था र स्थानीय उद्यमीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ।
खडक नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भैरोगंज बेल्हामा अहिले विद्यार्थीहरूले सफा, हरित र व्यवस्थित वातावरणमा अध्ययन गरिरहेका छन्। विद्यालय परिसरमा बगैंचा निर्माण, वृक्षारोपण, सरसफाइ व्यवस्थापन तथा पूर्वाधार सुधारका कारण विद्यालयको स्वरूप नै परिवर्तन भएको छ।
विद्यालयका शिक्षकहरूका अनुसार वातावरण सुधारसँगै विद्यार्थीको विद्यालयप्रतिको आकर्षण बढेको छ भने नियमित पठनपाठनमा समेत सकारात्मक प्रभाव परेको छ।
यता कल्याणपुर आधारभूत अस्पतालले स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेपछि प्रसूति सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता कम भएको छ। अस्पतालले हालसम्म चार सयभन्दा बढी महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गरिसकेको जनाएको छ।
स्वास्थ्य क्षेत्रमा उपकरण, सरसफाइ सामग्री तथा बर्थिङ सेन्टर व्यवस्थापनमा प्राप्त सहयोगले अस्पतालको सेवा प्रवाहलाई थप सहज बनाएको छ।
कार्यक्रमले आर्थिक सशक्तीकरणमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ। नगरपालिकाका २ सय १३ जना उद्यमीलाई व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराइएपछि धेरैले स्वरोजगारको बाटो रोजेका छन्। यसले स्थानीय स्तरमै आम्दानी र रोजगारीका अवसर सिर्जना गरेको छ।
हाल विद्यालयको वातावरण सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार र उद्यमशीलता विकासका गतिविधिले खडक नगरपालिकामा समुदायको जीवनस्तर उकास्न मद्दत गरिरहेको स्थानीयवासी बताउँछन्। विकासका ठूला योजना भन्दा पनि यस्ता साना तर प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमले नागरिकको दैनिकीमा परिवर्तन ल्याउन थालेको उनीहरूको भनाइ छ।
