महेन्द्रनगर (धनुषा), मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुलुकको समुन्नत विकासका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य र समन्वय अनिवार्य रहेको बताएका छन्। जनकपुरधाममा आयोजित ‘अन्तर-सरकार सम्बन्धका सवालहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रभावकारी समन्वयको अभावले कार्यसम्पादनमा अन्योल सिर्जना भइरहेको उल्लेख गरे।
मुख्यमन्त्री सिंहले आपसी सहकार्यको कमीका कारण नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह हुन नसक्दा वर्तमान शासन व्यवस्थाप्रति जनगुनासो बढ्दै गएको बताए। उनले भने, “पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र पर्यटन प्रवर्द्धनजस्ता महत्वपूर्ण क्षेत्रमा परिणाममुखी प्रगति हासिल गर्न तीनै तहबीचको सहकार्य अपरिहार्य छ।”
कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले वर्तमान लोकतान्त्रिक शासन प्रणाली उत्कृष्ट भएको भन्दै यसलाई सुदृढ गर्न सबै पक्षले आफ्नो भूमिकामा प्रतिबद्ध हुनुपर्ने बताए। संविधान र कानुनले दिएका अधिकारबारे दोहोऱिने विवादले विकास अवरुद्ध भइरहेको उनको भनाइ थियो।
प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले संघीयता सफल बनाउन नीतिगत स्पष्टता र कार्यान्वयनबीच सशक्त तालमेल हुनुपर्नेमा जोड दिए। “संघ र प्रदेश नीतिगत मार्गदर्शनमा केन्द्रित हुनु आवश्यक छ भने स्थानीय तहले कार्यान्वयनमा पूर्ण लगाव देखाउनुपर्छ,” मन्त्री यादवले भने।
कार्यक्रममा मधेस प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायत विभिन्न पालिका प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले अन्तर सरकार सम्बन्धका सवालमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।