जनकपुरधाम । धनुषाधाम नगरपालिका–३ का वडाध्यक्ष जयनारायण यादवले टिभी टुडेकी पत्रकार चान्दनी झामाथि अभद्र व्यवहार गरेको घटना बाहिर आएको छ। स्थानीयवासीले वडाध्यक्ष यादवले आफ्नो जग्गा जोगाउन सार्वजनिक १८ फिट सडकलाई साँघुरो पार्दै १० फिटमा सीमित गर्ने प्रयास गरेको भन्दै गुनासो गरेका थिए।
सोही विषयमा समाचार संकलनका लागि शनिबार बिहान पत्रकार झा क्यामेराम्यानसहित घटनास्थल पुगेकी थिइन्। रिपोर्टिङको क्रममा वडाध्यक्षका समर्थकहरूले “पहिले वडाध्यक्षसँग कुरा गरेर मात्र भिडियो खिच्न पाइन्छ” भन्दै पत्रकारलाई रोक्ने प्रयास गरेका थिए। पत्रकार झाले उनीहरूलाई वडाध्यक्षलाई फोन गर्न आग्रह गरेकी थिइन्।
त्यसपछि समर्थकहरूले आफ्नो फोनबाट वडाध्यक्षलाई फोन गरी लाउडस्पिकरमा कुरा गर्दा, वडाध्यक्ष यादवले पत्रकारलाई दुई थप्पड हान्ने निर्देशन दिएका थिए। उक्त अभिव्यक्ति पत्रकार झा र घटनास्थलमा उपस्थित स्थानीयले प्रत्यक्ष सुनेका छन् र प्रमाण सुरक्षित गरिएको छ।
घटनापछि पत्रकार झाले वडाध्यक्षको अराजक र धम्कीपूर्ण व्यवहारको विरोध गर्दै उनलाई कानुनी कारबाहीको माग गरेकी छन्। उनी आजै जिल्ला प्रहरी कार्यालय धनुषामा वडाध्यक्ष यादवविरुद्ध उजुरी दर्ता गर्ने तयारीमा छन्।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले पनि यस घटनालाई गम्भीर रूपमा लिँदै वडाध्यक्षविरुद्ध आवश्यक कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा डेलिगेशन लिएर जाने तयारी गरेको छ।
यो घटना स्थानीय प्रशासन र सञ्चार स्वतन्त्रताका लागि चुनौतीपूर्ण विषय बनेको छ।














