काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काउनेलाई कारबाही माग गरेका छन् ।
उक्त घटनामा आपत्ति जनाउँदै सिंहले तत्काल सरकारले दोषीलाई कारबाही गर्न माग गरेका हुन् । दोषीहरूलाई कारबाही नगरे यो सरकार दलितविरोधी रहेछ भन्ने पुष्टि हुने पनि उनले बताए ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सिंहले चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर डोजरले भत्काएर परिवारलाई विस्थापित गरिएकोमा आपत्ति जनाए ।
अहिले दलित र महिलामाथि अत्याचारको श्रृंखला बढेको भन्दै उनले सरकारको ध्यानाकार्षण गराए ।
महायज्ञ आयोजक बजरंगी बाबा, औराही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव तीनै जनामाथि कारबाही हुनुपर्ने उनले माग गरे । तीनैजनालाई पक्राउ गरिनुपर्ने उनको माग थियो ।